शिक्षकका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामुहिक प्रतिवद्धताको खाँचो


काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शिक्षकहरुका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामुहिक प्रतिवद्धताको खाँचो रहेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताएका हुन् ।
उनले शिक्षासम्बन्धी संसदीय समितिको सभापति समेतगरी प्रतिपक्षी दलले लामो समयसम्म शिक्षा मन्त्रालयको नेतृत्व गरेको भएपनि शिक्षा ऐन टुंग्याउन नसकेको आरोप लगाए ।
सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर मात्र समस्याको हल निकाल्न नसकिने बताए ।
उनले भने– ‘आजको प्रतिपक्ष सबैभन्दा बढी शिक्षा मन्त्रालय सम्हालेको र शिक्षा समितिको सभापति अहिलेको प्रतिपक्षी दलको सांसद नै रहनुभएको तथ्य पनि हाम्रो अगाडि छ । तरपनि हामी यो शिक्षा ऐनलाई टुंगोमा पुर्याउन सकिरहेका छैनौं । अहिले सत्तापक्षले प्रतिपक्षमा भएको सभापतिलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँमा छौं जस्तो मलाई लाग्दैन । सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर हामीले छुट पाउने परिस्थिति छैन । अहिले संसदीय उपसमितिमा छलफलकै क्रममा रहेको विधेयकलाई टुंग्याउनको लागि हामी सबैको सामुहिक प्रतिवद्धताको खाँचो छ भन्ने मलाई लागेको छ ।’
शिक्षकहरुका जायज मागहरु पूरा गर्दै प्रभावित भइरहेको नियमित शैक्षिक गतिविधिहरुलाई सुचारु गर्न सकारात्मक सहयागे आजको आवश्यकता भएको उनको भनाइ छ ।
