सर्वसम्मत नेतृत्व चयन गर्न थालेपछि एमाले अछाममा भाँडभैलो, लेखराजविरूद्व नेताहरूको नाराबाजी

काठमाडौं । नेकपा एमाले अछामको नयाँ नेतृत्व चयनमा सहमति जुट्न सकेको छैन । आकांक्षी नेताहरू धेरै भएपछि सहमति बन्न नसकेको हो ।

सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, अछाम इन्चार्ज झपड बोहरा र नेता कमल तिमिल्सिना लगायतले सहमति गराउने प्रयास गरिरहेका छन् । ‘हिजोदेखि नै सहमतिका लागि छलफलमा छौँ तर सहमति जुटेको छैन,’ एक नेताले बताएका छन्, ‘पालिकाबाट भूगोल क्लष्टरबाट जिल्ला कमिटीमा आउने सदस्यमध्ये ३ पालिकाको लगभग टुंगो लागेको छ ।’

शनिबार एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अधिवेशन उद्घाटन गरेका थिए भने आइतबार बन्द सत्र सम्पन्न भएको थियो । बन्द सत्रमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास भएको भए पनि नेताहरूबीच नाराबाजीसमेत भएको थियो । लेखराज भट्टविरुद्ध समेत नाराबाजी भएको थियो ।

८० प्रतिशत नेताहरूले चुनावको पक्षमा उभिएका छन् । वर्तमान अध्यक्ष चन्द्रबहादुर बोहरा, वर्तमान सचिव भीम रावल (कालोटोपी), डिबी साउदलगायतका नेताहरूले चुनाव हुनुपर्ने माग गर्दै आएका छन् । बोहरा आफैं अध्यक्षका उम्मेदवार पनि हुन् । उनी सर्वसम्मतिमा नभई निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने अडानमा छन् ।

अध्यक्ष पदमा हालसम्म ७ जनाले दाबी गरेका छन् । चन्द्रबहादुर बोहरा, डिबी साउद, भीम रावल, प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्याय, बमबहादुर बिसी, हिरण्ड भट्टराई र जिल्ला कमिटी सदस्य तिलक कुँवर अध्यक्षका आकांक्षी हुन् ।

प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्यायलाई अध्यक्ष बनाउने प्रस्तावमा केही नेताहरू सहमत देखिए पनि अन्य नेताहरूले त्यसको विरोध जनाएका छन् । एमाले अछामको ९औँ जिल्ला अधिवेशन अन्तर्गत निर्वाचन कमिटीले आइतबार नै निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक गरिसकेको थियो ।

कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन भइसकेको छ भने सोमबार उम्मेदवारी दर्ता, दाबी विरोध र अन्तिम नामावली प्रकाशन हुने तालिका थियो। तर सोमबार उम्मेदवारी दर्ता हुन सकेन । आकांक्षीबीच सहमतिका लागि छलफल भइरहेकाले उम्मेदवारी दर्ता प्रक्रिया रोकिएको हो ।

सहमति जुट्न नसके उम्मेदवारी दर्ता गरी आज दिउँसो ३ बजे मतदान हुने कार्यक्रम तय गरिएको छ । नेतृत्व चयनमा सहमति जुटाउने प्रयास जारी रहे पनि रस्साकस्सी कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *