निर्माण व्यवसायीसँग भएका सम्झौता आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष सिंह


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट, डण्डीलगायत निर्माण सामग्रीमा भइरहेको कालोबजारीमा सरकारले संरक्षण गरेको आरोप लगाएका छन् ।
पोखरामा भएको नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३१ औँ साधारण सभामा बोल्दै उहाँले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकारले सामाजिक सञ्जाललगायतका विभिन्न मिडियाको सम्लग्नतामा निर्माण सामग्रीमा कालोबजारी गरेको बताए ।
उनले निर्माण उद्योगीहरुले उत्पादन कटाएर निर्माण सामग्रीको मूल्य बढाएको बताए । उनले सरकारको संलग्नतामा वृद्धि गरिएको सिमेन्ट तथा डण्डीकोे मूल्यलाई महासंघले विभिन्न निकायमा उजुरी गरेर घटाउन सफल भएको पनि बताए ।
उनले सरकारले निर्माण व्यवसायीहरुसँग विगतमा गरेको ६ खर्बभन्दा माथिका सम्झौताको स्रोत जुटाउन नसक्दा व्यवसाय समस्याग्रस्त बनेको बताए । उनले व्यवसायीसँग गरिएका सम्झौता बमोजिम आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनुुपर्ने बताए ।
स्रोत जुटाउन नसकिने योजनालाई सार्वजनिक खरिद ऐनअनुसार अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष सिंहले विभिन्न समस्याको सकसमा रहेको निर्माण उद्योग व्यवसाय निर्माणसम्बन्धी ऐन कानूनहरु परिवर्तन नगरेसम्म विकास सम्भव नरहेको बताए ।
