नाडा र सामाजिक सुरक्षा कोषबिच समझदारी पत्रमा हस्ताक्षर


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा मिति २०८१ फागुन २६ र २७ गते काठमाडौँमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन भन्ने नाराका साथ सो सम्मेलन प्रारम्भ भएको हो ।
उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको समुपस्थितिमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र सो मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोष बिच एउटा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारी पत्रमा नाडाले आफ्ना आबद्ध संघ संस्था र प्रतिष्ठानहरूलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गराउने र सो सुरक्षा कोशले कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरू र सुविधाहरूका सम्बन्धमा नाडासंगको सहकार्यमा आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ, भनिएको छ ।
सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी र कोषकोतर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे । यस्तो ऐतिहासिक समझदारीले नाडा र सामाजिक सुरक्षा कोष बिचको सम्बन्ध आगामी दिनहरूमा थप सबल र सुदृढ हुँदै जाने विश्वास समेत नाडाले लिएको छ । उक्त समझदारी अनुसार नाडाले अव हरेक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रमहरूमा सो कोषबाट समेत प्रशिक्षक उपलब्ध गराउने छ ।
उक्त हस्ताक्षर कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती र सचिव विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।
