भोलिदेखि भरी सिलिण्डर ग्यास पाइने

काठमाडौं । बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो ।

यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएका छन् । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङ्गको अवस्थामा उल्लेख्य सुधार आएको छ ।

यसका साथै, आम उपभोक्ता वर्गबाट १४.२ केजीकै भरी ग्यास सिलिण्डरको उच्च माग भइरहेको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले आधा सिलिण्डरको सट्टा पूर्ण तौलकै सिलिण्डर बजारमा पठाउने निर्णय गरेको हो । यो निर्णय बुधबारदेखि नै मुलुकभरका सबै डिपो र विक्रेताहरूमा लागू हुने निगमले जनाएको छ ।

निगमले भरी सिलिण्डर (१४.२ केजी) ग्यासको उपभोक्ता मूल्य समेत स्पष्ट पारेको छ। अब उपभोक्ताले प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँमा भरी ग्यास सिलिण्डर खरिद गर्न सक्नेछन् ।

उद्योगमन्त्री यादवको सक्रियता र निर्देशनपछि चालिएको यो कदमले चाडपर्व वा बजारमा माग बढ्ने समयमा उपभोक्तालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । निगमले बजारमा ग्यासको अभाव हुन नदिन र कालोबजारी रोक्न अनुगमनलाई समेत तीव्र बनाउने सङ्केत दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =