पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पूर्वाधार मन्त्रालयले अघि सारेका विकासका योजना र बजेट विनियोजनको नयाँ शैलीको प्रशंसा गरेकी छन् ।

पूर्वाधारमन्त्री सुनिल लम्सलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद रानाले देशको समग्र कनेक्टिभिटी र रणनीतिक सडक सञ्जालका लागि तयार पारिएको योजना ‘अचम्मको’ रहेको बताइन् ।

अविरल वर्षाका कारण पूर्वी नेपालका बिरिङ, ट्याङटिङ र माई खोलालगायतका क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित भएको र सडक सञ्जाल अवरुद्ध भएको भन्दै सांसद राना आज बिहानै ८ बजे मन्त्री लम्साललाई भेट्न मन्त्रालय पुगेकी थिइन् । विशेषगरी कोशी र कर्णाली प्रदेशमा पुल भत्किएर सवारी साधन तथा बिरामीहरू मारमा परेको उल्लेख गर्दै उनले ती क्षेत्रमा तत्काल पहुँच पुनर्स्थापित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

विगतमा प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने प्रचलन रहेको भन्दै सांसद रानाले यस पटकको योजनामा त्यस्तो विभेद नदेखेको दाबी गरिन् ।

उनले भनिन्, ‘मन्त्रीज्यूले आफ्नै क्षेत्रलाई समेत प्राथमिकतामा नराखी दुर्गम र पहाडी भेगलाई लक्षित गरी योजना बनाउनुभएको रहेछ । मेरो निर्वाचन क्षेत्रमा बजेट नपरे पनि उहाँको यो वृहत् योजना देखेर म प्रभावित भएकी छु । कनेक्टिभिटी नै देश विकासको मेरुदण्ड हो । यसले हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र राजश्व वृद्धिमा प्रत्यक्ष सहयोग पु¥याउनेछ ।’

मन्त्रालयले राष्ट्रिय राजमार्ग, पालिका र जिल्ला सदरमुकाम जोड्ने सडकहरूलाई दुई लेनको बनाउने, पर्यटन र कृषि राजमार्ग निर्माण गर्ने तथा वडा तहसम्म सडक पुर्‍याउने लक्ष्य राखेको उनले जानकारी दिइन् ।

त्यस्तै, सहरी क्षेत्रका पालिकाहरूमा १०० करोडभन्दा बढीको बजेट व्यवस्था र व्यवस्थित बस्ती विकासका योजनाहरू समेत समावेश गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =