वैदेशिक रोजगारको अन्त्य तत्काल सम्भव छैन : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार रहेका कारण अफ्ठ्यारो स्थिति रहेको बताएका छन् ।
सोमवारबाट संघीय राजधानीमा शुरु भएको रोजगार मेलालाई सम्बोधन उनले देशभित्र नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार भएकै कारण वैदेशिक रोजगारको तत्कलै अन्त्य गर्न कठिन रहेको बताएका हुन् ।
‘हामीसँग पूर्ण बेरोजगार कम छ, अर्ध बेरोजगारहरु बढी छन् । अर्ध बेरोजगारी कृषिमा जस्तै अनौपचारिक क्षेत्रमा छ । अहिलेकै बेरोजगारहरुको अवस्था ४ लाख भन्दा धेरै गुणा माथि छ । हामीले अहिलेको आर्थिक वृद्धिबाट अहिले श्रम बजारमा प्रवेश गर्नेहरुलाई रोजगारी दिन्छौं, कामको अवसर पाउछन् तर पुरानो श्रमबजारमा रहेको बेरोजगार र अर्ध बेरोजगारलाई पनि हामीले सेवा वा पेशा रोजगारीमा ल्याउने हो भने हामीले अझै धेरै वर्ष कुर्नुपर्ने हुन्छ’ उनले भने ।
खतिवडाकाअनुसार अहिले वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, सम्मानित बनाउने, प्रतिफल युक्त बनाउने, वैदेशिक रोजगारीबाट फर्केकालाई श्रमबजारमा फेरि आवद्ध गर्ने, उनीहरुले ल्याएको आर्जनलाई स्वरोजगारी र कामको अवसर सिर्जना गर्नेमा काममा लगाउन सक्नुपर्छ ।
श्रम मन्त्रालयले श्रम सम्झौताहरु गर्दा विदेशमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा ख्याल गर्नुपर्छ । नेपालमा रहँदा नेपाल सरकारले विदेशमा जाँदा त्यही रोजगारदाताले सामाजिक सुरक्षा दिने प्रत्याभुति गराएर वैदेशिक रोजगारीमा लैजाने अवस्थाको सिर्जना गर्नुपर्ने उनले बताए ।
आगामी एक दशक रोजगार दशक मनाईरहँदा एकदकपछि वैदेशिक रोजगारीमा कोही पनि जानुनपर्ने हामीले सिर्जना गर्नुपर्ने बताउँदै खतविडाले त्यसका लागि केही सर्तहरु रहेको बताए ।
खतिवडाकाअनुसार श्रमिकहरुको ज्याल दरहरु अहिले कम छन् । अहिलेको स्थितिमा एउटा श्रमिकले वर्षको ३ लाख ५० हजार आम्दानी उसको भएन भने गाह्रो छ ।
उनले भने–‘पछिल्लो जिवनस्तर सर्वेक्षणले गरेको अनुमानलाई आधार मान्ने हो भने हामीलाई ३ लाख ५० हजार भन्दा कम आन्दानी गर्ने जो श्रमिक हो यी परिवारको एउटामात्रै सदस्य श्रम गर्दैछ भने त्यो आम्दानीले परिवारलाई गरिबीको रेखामाथि लैजान सक्दैन’ उनले भने ।
खतिवडाकाअनुसार कम ज्याला, कम उत्पादत्वलाई बढाउनका लागि प्रविधि, सीप, कमका शैलिमा परिवर्तन गराउन सक्नुपर्छ ।
ज्यालामा वृद्धि गरेर पनि व्यवसाय प्रतिस्पर्धी हुनसक्ने खतिवडाले बताए । सरकारले आफ्नो तवरबाट न्युनतम ज्यालाहरु निरन्तर वृद्धि गरिएको उनको भनाई छ ।








