राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको सन्दर्भमा मन्त्रालय र नाडाबिच छलफल

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ ।

गत आइतबार सो मन्त्रालयले यही फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्न लागेको र त्यसको पूर्व तयारीका सन्दर्भमा सो भेटवार्ता सम्पन्न भएको नाडाले जनाएको छ ।

उक्त छलफलमा खाशगरी अटोमोवाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोवाइल क्षेत्र बाहिरको सभावनाहरुको पहिचान गर्ने, तालिम केन्द्रहरू स्थापना गर्ने, अन्तर मन्त्रालयहरुबिच सहकार्य गर्ने, सहमतिका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयहरूमा छलफल केन्द्रित रहेको जनाइएको छ ।

उक्त छलफलमा सो मन्त्रालयका सचिव डा। कृष्णहरी पुष्कर र सहसचिव दण्डुराज घिमिरेले समेत आफनो धारणा राखे । सो भेटघाट तथा छलफलमा अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) का कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले समेत आफ्ना धारणाहरू राखे ।

सो मन्त्रालयले उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरूको विश्लेषणगरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर—तह/अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्देश्य राखेर सो सम्मेलन काठमाडौँमा आयोजना गर्न लागेको सन्दर्भमा यो भेटघाट तथा छलफल भएको हो ।

यसैगरी सो मन्त्रालयले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालसँग सहकार्य र समन्वय गर्नेछ र साथै सो रोजगार सम्मेलनमा नाडाको एउटा स्टल समेत रहने जनाइएको छ ।

उक्त भेटघाट तथा छलफलमा वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सहकोषध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, दिपेन्द्रकुमार मिश्रा, नवराज भुसाल, प्रकाश कपुरी, प्रदिपमान प्रधान, अभिक ज्योति, निलमणी पाठक, नविनकुमार पारख, नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला समेतको उपस्थिति रहेको थियो ।

यसै सिलसिलामा आजै नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले सो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर गर्ने विषयमा समेत विस्तृत रुपमा छलफल भएको छ ।

सो कार्यका लागि अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) ले नाडालाई आवश्यक सहयोग गर्नेछ ।

गत जनवरीको १७ देखि २२ सम्म भारतको नयाँ दिल्लीमा सम्पन्न भारत मोविलिटी २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ती तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिम कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशन एसिएमए, एयसडिसि र एनएडिए विच त्रिपक्षीय चार बुँदे सम्झौता समेत सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =