विज्ञप्ति

चौधरी ग्रुपको दाबी- कार्यक्रम तथा अवार्डहरूमा हाम्रो समर्थन छैन

काठमाडौँ । केही कार्यक्रम तथा अवार्डहरूमा चौधरी ग्रुपको समर्थन रहेको खबर गलत भएको कम्पनीले जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले उक्त दाबी गरेको हो ।

विज्ञप्तिमा उल्लेख छ ‘हामी स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं कि ती गतिविधिहरू वा तिनका आयोजकहरूसँग हाम्रो कुनै सम्बन्ध वा सहकार्य छैन । हाम्रो नाम, पहिचान र विरासतको कुनै पनि अनधिकृत प्रयोग भ्रामक, अनुपयुक्त र कानुनी रूपमा अस्वीकार्य छ ।’

चौधरी ग्रुप एक जिम्मेवार व्यावसायिक संस्थाका रूपमा सधैँ नैतिक मूल्य, व्यावसायिक अभ्यास र पारदर्शिताको पक्षमा रहेको कम्पनीले जनाएको छ । कम्पनीको नामको कुनै पनि गलत प्रस्तुतीकरण व्यक्तिगत वा सङ्गठनात्मक लाभका लागि गरिएको भए त्यसको कडा भर्त्सना गर्ने जनाएको छ ।

यस्ता दुरुपयोग रोक्न कानुनी प्रक्रिया अगाडि बढाइएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ र भविष्यमा यस्ता कुनै पनि अनधिकृत दाबीहरूले कानुनी कारबाही भोग्नुपर्ने बताइएको छ ।

त्यसैगरी, केही मिडिया संस्थाहरूले पित पत्रकारिता प्रदर्शन गर्दै गलत सूचना तथा भ्रामक समाचार फैलाइरहेका घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता अनैतिक अभ्यासहरूले आम नागरिकको विश्वास कमजोर बनाउने र जिम्मेवार पत्रकारिताको विश्वसनीयता खलबल्याउने काम गर्ने भन्दै गलत स्टोरी, विकृत तथ्य र आधारहीन अफवाहहरूको जिम्मेवार समाजमा कुनै स्थान हुन नसक्ने बताइएको छ ।

कम्पनीको निष्ठा जोगाउन र मर्यादित पत्रकारिता कायम होस् भन्नका लागि त्यस्ता झुटा प्रचारविरुद्ध कानुनी कारबाही अघि बढाउँदै गरेको कम्पनीले जनाएको छ । चौधरी ग्रुप नैतिक व्यवसायप्रति दृढ प्रतिबद्ध रहेको भन्दै कम्पनीले यसको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि कदापि स्वीकार्य नहुने बताएको छ ।

कम्पनीले नागरिक समाज, सञ्चारकर्मीहरू र सरोकारवालाहरूलाई सत्य, जबाफदेहिता र नैतिक रिपोर्टिङलाई कायम राख्दै गलत सूचना तथा ठगीपूर्ण गतिविधिहरूको विरुद्ध उभिन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =