सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताए । उनले सामाजिक सञ्जालको प्रयोगकर्ताहरूले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादाको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद भएको बताए । उनले शासन प्रणाली बदलिएको भएपनि शासनको शैली अझै बदल्न नसकेको बताए । उनले विधेयकमाथि सरोकारवालाहरूसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली काँग्रेससँग पनि पर्याप्त छलफल नभएको बताए ।
उनले भने ‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ । राजनीतिले पनि आफूभित्र परिवर्तन खोज्नु भनेको छ । सामाजिक सञ्जालको प्रयोगकर्ताहरूले पनि यसको प्रयोग गरिरहँदै गर्दा राख्नुपर्ने मर्यादाको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी छ । सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद हो । यो संसदले सही ढंगले फिडब्याक दिने कर्म गर्यो भने, यो बाहिर रहेको संसदमा सही प्रश्नमा सही ढंगले खबरदारी गर्यो भने भित्र रहेको संसदले आफूलाई अझ बढी जिम्मेवार बनाउन, देश जनताको मुद्दाप्रति अझै गम्भीर बन्न, आफूलाई परिमार्जित गर्नका लागि सजिलो हुन्छ । शासन प्रणाली बदल्यौँ तर शासनको शैली अझै बदल्न सकेका छैनौँ । यो विधेयक आउँदै गर्दा आम सरोकारवालाहरूसँग छलफल हुनुपर्दथ्यो । तर सरकारमै रहेको मुख्य दुई दलको बिचमा पनि गहन संवाद भएन । त्यसले के बताउँछ भने शासन गरिरहँदाको शैली मोर डेमोक्रेटी हुनुपर्दथ्यो, अपनत्वको अनुभूति हुनुपर्दथ्यो । अहिले सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आएको छ । यो विधेयक आवश्यक संवादपछि, छलफलपछि, परिमार्जनपछि मात्रै पास हुन्छ । ’
महामन्त्री शर्माले प्रतिनिधि चुनिएका व्यक्तिहरूले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बताए ।








