अस्ट्रेलिया जाने खर्च जुटाउन अस्मिताको हनीट्रयाप योजना

काठमाडौं । चितवन रत्ननगर नगरपालिका-८ की अस्मिता आचार्य जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनीमाथि ‘हनीट्रयाप’को आरोप लागेको छ, जसअन्तर्गत पुरुषलाई जालमा पारेर रकम असुल्ने प्रयास गरेको भनिएको छ ।
२८ वर्षीया अस्मिता आचार्यले ५० वर्षीय एक पुरुषलाई हनीट्रयापमा पारेर आर्थिक फाइदा लिने प्रयास गरेको आरोपमा माघ २२ गते पक्राउ परेकी हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुरोधमा काठमाडौँ प्रहरीले उनलाई आपराधिक लाभ लिन खोजेको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
चार महिनाअघि अस्मिता कुलेश्वरस्थित एउटा इलेक्ट्रोनिक सामग्री मर्मत पसलमा पुगिन् । उनले राइसकुकर मर्मत गराउन अनुरोध गरिन् र पसल सञ्चालकको फोन नम्बर लिइन् । त्यसपछि उनी लगातार सम्पर्कमा रहिरहिन् । मर्मतकर्तासँग आर्थिक सहायता माग्न थालिन् । सुरुमा उनले चार-पाँच हजार रुपैयाँ सापट लिइन्, तर पछि उनले दुई लाख रुपैयाँ मागिन् ।
पसल सञ्चालकले ठूलो रकम दिन आनाकानी गरेपछि अस्मिताले ठमेलमा सँगै खाजा खान आग्रह गरिन् । सम्बन्ध नजिकिएपछि अस्मिताले प्रस्ताव राखिन्, ‘सिनामंगलको एउटा होटलमा बसौँ ।’ होटल पुगेपछि उनले ती पुरुषलाई धम्क्याइन्, ‘रकम नदिए बलात्कारको मुद्दा लगाइदिन्छु ।’ सो धम्कीपछि पुरुष डराए । र अस्मिताले १० लाख रुपैयाँ माग्न थालिन् ।
चार दिनसम्म पैसा नपाएपछि उनले मर्मतकर्ताको छोरालाई फेसबुक म्यासेन्जरमार्फत सन्देश पठाइन्, ‘तिम्रो बुवाले मलाई बलात्कार गरेका छन्, म प्रहरीकहाँ उजुरी दिन्छु ।’ यो कुराले मर्मतकर्ताको परिवारमा तनाव सिर्जना गर्यो । ती पुरुषले १० लाख रुपैयाँ दिन सहमति जनाए, पीडितले प्रहरीका पनि उजुरी दिइसकेका छन् ।
पछि ३ लाखको चेक लिन बोलाए । प्रहरीको टोली पनिसँगै रहेकाले अस्मितालाई चेक लिइरहेको अवस्थामा पक्राउ गरियो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले अस्ट्रेलिया जाने खर्च जुटाउन हनीट्रयापको योजना बनाएको स्वीकार गरेकी छन् । उनका श्रीमान् अस्ट्रेलियामा रहेका कारण उनी पनि जाने तयारीमा थिइन्, जसका लागि उनलाई ठूलो रकम आवश्यक परेको थियो ।
अस्मिता आचार्यले बिबिएसम्मको अध्ययन गरेकी छन् । काठमाडौं महानगरपालिका-१३ कुलेश्वर बस्ने अस्मिताविरुद्ध प्रहरीले अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।








