रोल्पामा जीप खस्दा आमाको मृत्यु, दुई छोरा गम्भीर


रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा आमाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन् । गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा सीताका दुई छोराहरु तीन वर्षका सौरभ र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख भरत लामाले जानकारी दिए ।
घाइते बालकहरुको स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।
हिजो बेलुका लु १ च ९४०६ नम्बरको जीप त्रिवेणी गाउँपालिका–७ गाङमा दुर्घटनामा भएको हो । जीपमा चालक, सहचालक, ज्यान गुमाउने सीता र उनका दुई छोरा गरी पाँच जना थिए । घटनापछि चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सीता पेशाले शिक्षिका भएको खुलेको छ ।
