चितवनमा रविका अधिवक्ताको बहस सुरु, लामो बहस नगर्ने

काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा वादी तथा जोहरवाला तर्फको बहस सकिएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा अहिले प्रतिवादी रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता शुसिल पन्तले बहस सुरु गरेका छन् ।
बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बिहानमात्रै हाजिर भएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धवहादुर थापाले बहस गरेका थिए । साथै जोहरकर्ताका तर्फबाट पनि एक जना अधिवक्ताले बहस सुरु गरिसकेका थिए ।
तर विहिबार पनि सरकारी वकिलका तर्फबाट बहस गर्न महान्यायाधिवक्तको कार्यालयले बारा, पर्सा र धादिङ्ग जिल्ला न्यायाधिवक्ताहरुलाई चितवन पठाएको थियो ।
आज वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु बारा जिल्लाका शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका भोलानाथ निरौला र धादिङ्ग जिल्लाका दशरथ पङ्गेनीले बहस गरेका छन् ।
जाहेरवालाहरुको तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका छन् ।
वादी र जाहेरवालाको तर्फबाट बहस सकिएसँगै अहिले प्रतिवादीको तर्फबाट बहस भइरहेको छ । प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले बहस गरिरहेका छन् ।
लामिछानेका तर्फका अधिवक्ताहरुले लामो बहस नगर्ने मनस्थितिमा रहेको बताएका छन् । वादी तथा जाहेरकर्ताका तर्फबाट थुनछेक लम्ब्याउन खोजे जस्तो देखिएकाले प्रतिवादी तर्फबाट एक दुई जनाले मात्रै बहस गर्ने एक अधिवक्ताले जानकारी दिए ।
उनका अनुसार प्रतिवादीको बहसपछि फेरी वादी तर्फबाट जवाफी बहस सकिएमा आजै आदेश आउने छ ।








