प्राविधिक शिक्षामा लगानी बढाउन सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

विर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको छैटौँ अधिवेशनको उद्घाटन गर्दै आज उनले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र प्राविधिक शिक्षा मुलुकको आवश्यकता रहेको बताए ।

‘अब सैद्धान्तिक शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन,’ उनले भने, ‘प्रविधिको युग सुरु भएको छ, शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहले प्राविधिक शिक्षालयको स्थापना गर्न पहल गर्नुपर्छ ।’

मुलुकमा सङ्घीय प्रणाली स्थापनापछि तीन तहको सरकार रहने व्यवस्था भएको उल्लेख गर्दै सभामुख घिमिरेले गुरुयोजना निर्माण गरेर मात्र विकास निर्माण अघि बढाउन सुझाव दिए ।

उनले शिक्षाको विकासका लागि केन्द्रको मुख ताक्ने प्रवृत्ति रहेको चर्चा गर्दै स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमुना प्रस्तुत गर्नुपर्ने बताए ।

असल सिर्जना र श्रममा आधारित प्राविधिक शिक्षाको अभावमा मुलुकको ठूलो जनशक्ति नकारात्मक प्रवृत्तिको लहैलहैमा लागिरहेको जनाउँदै उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो मात्र बनिरहेको बताए ।

स्थानीय तहलाई आफ्नो क्षेत्रमा राम्रो प्राविधिक र सांस्कृतिक विद्यालय सञ्चालन गर्न संविधान र कानुनले नरोकेको उल्लेख गर्दै सभामुख घिमिरेले शिक्षालाई रोजगारमुखी, संस्कारयुक्त र देशका लागि चिन्तन गर्ने जनशक्ति उत्पादन गर्ने विकासको प्रमुख आधारशिलाको रुपमा ग्रहण गरिनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =