पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्काउनेबारे निर्णय भएको छैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच उनले यस्तो बताएका हुन् ।
बुधवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भुमिकामा फर्किने कुरा उचित नहुने बताए ।
‘राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु हो । त्यो संस्थालाई सुदृढिकरण गर्नु र त्यसलाई थप मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो,’उनले भने,‘यस मामलामा सम्माननीय पूर्वराष्ट्रपति र उपराष्ट्रपतिज्युहरु सचेत नै हुुनुहुन्छ भन्ने म ठान्दछु । सामान्यतः संवैधानिक राष्ट्रअध्यक्षहरु मुलुककै अभिभावक हो ।’
उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु भएको उल्लेख गर्दै उक्त संस्थाहरुलाई सुदृढिकरण गर्दै थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेको समेत बताए ।
उनले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए ।
उनले पार्टीमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने नफर्किने विषयमा कुनै छलफल र बहस नभएको समेत स्पष्ट पारे ।
‘नेकपा एमालेको अभिभावकको रुपमा पूर्वराष्ट्रपति हुनुहन्छ नै । तर मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भुमिकामा फर्किने कुरा चाहीँ उचित हो जस्तो म ठान्दिन,’उनले भने, ‘तत्कालै उहाँ नेकपा एमालेको सक्रिया राजनीतिमा फर्किनुहुन्छ भन्ने बाहिर निर्माण गरेको भाष्य जस्तो अध्यक्षसँग प्रतिष्पर्धा गर्न खोज्न आउँदै हुनुहुन्छ भन्नेकुरा चाहीँ सही होइन । यसबारे उहाँले नै राष्ट्रलाई आवश्यक परेको बेला म आउनसक्छु भन्नुभएकै छ । पार्टीमा यस विषयमा कुनै कुरा र निर्णय पनि गरेको छैन ।’
उनले अहिले बाहिर भइरहेका चर्चाहरु अनुमान मात्र भएको बताए । उनले सत्य समाचारको रक्षा गर्न तथा मिथ्या सूचनाको बाढी रोक्नको लागि सामाजिक सञ्जाल नियमन विधेयक ल्याइएको समेत बताए








