सुप्रिम सहकारी ठगी प्रकरण

अदालतले भन्यो – रवि लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार देखिएन

काठमाडौं । रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा लिई तारेखमा राख्न आदेश दिएको हो ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश योगीको इजलासले दिएको आदेशमा भनिएको छ, ‘मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम रु. एक करोड नगद धरौट, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाउनू ।’

यसअघि लामिछानेलाई जिल्ला अदालत कास्कीले पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =