समितिमा अल्झिएका विधेयकबारे सभामुखले बढाए दौडधुप

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनलाई विजनेस दिन सरकारको ध्यानाकर्षण गरेका छन् ।
आईतवार सिंहदरबारमा सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरुसँग अनौपचारिक छलफल गर्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
छलफलमा सभामुख घिमिरेले संसदको आउँदो अधिवेशनलाई रचनात्मक र सिर्जनात्मक बनाउन प्रमुख सचेतकहरुबाट पहलकदमी गर्न आग्रह गरेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनले संसदको प्रभावकारिता बढाउँदै विचाराधिन विधेयकहरुलाई अगाडि बढाउनुपर्ने विषयमा छलफल भएको बताए ।
प्रमुख सचेतक बर्तौलाकाअनुसार संसदीय समितिमा विचाराधिन रहेका विधेयक पेस गर्ने र अन्य व्यवस्थापकीय पाटो विषयमा समेत छलफल भएको छ ।
छलफलपछि सञ्चारकर्मीसँग बर्तौलाले भने ‘आजको बैठकको मुख्य विषय हाउसको प्रभावकारीता बढाउने नै हो । विचाराधिन रहेका विधेयकहरु अगाडि बढाउने प्रसंग पनि उहाँले जोड्भयो । यसमा प्रमुख दुई दलको अझै बढी पहलकदमी प्रमुख सचेतकहरुबाट रहोस् भन्ने उहाँको अपेक्षा छ । उहाँले नियममित रुपमा यो अपेक्षा गरिरहनुभएको छ । संसदको पाँचौं अधिवेशनको पहिलो बैठक यही माघ १८ गते हुँदैछ । यो अधिवेशन पहिलो दिनदेखि नै एकदमै रचनात्मक र सिर्जनात्मक होस् । त्यस हिसावले बैठक अगाडि जाओस् भन्ने उहाँको अपेक्षा छ । विधेक ल्याउने सरकारको काममा एक प्रकारको संकेत होस् भन्ने उहाँको अपेक्षा छ । अन्य व्यवस्थापनका विषयमा समेत उहाँले केही कुराहरु राख्नुभएको छ । बैठकको पहिलो दिन शिर्षस्थ नेताहरुले सम्बोधन गरेर हाउसलाई प्रभावकारी ढंगले अगाडि बढाउने, हाउसले विजनेश पाउने कुरामा कुनै कमी नहुने लगायत विषयमा हामीले एक प्रकारको वाचा दिएका छौं ।’
नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले छलफलमा सभामुख घिमिरेले अल्झिएर रहेका विधेयकको बारेमा सत्तारुढ दलको धारणा लिएको बताए ।
उनले संसदको गएको अधिवेशनमा देखिएका समस्याहरुबारे समेत छलफल भएको उल्लेख गर्दै पार्टी नेतृत्वसँग छलफल गरेर निर्णयमा पुग्ने बताए ।








