रविविरुद्धको मुद्दामा आदेश आउने दिन नजिक

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा आज पुनः पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी रहने भएको छ । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो ।

शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । पछिल्लो सुनुवाइमा शुक्रबार पीडित पक्षबाट दुई जना र लामिछाने पक्षबाट तीन जना कानुन व्यवसायीले आफ्नो बहस गरेका थिए । तर अन्य वकिलहरूको बहस बाँकी रहेकाले थुनछेक प्रक्रिया लम्बिएको हो ।

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले आज पुनः बहस हुने जानकारी दिए । उनकाअनुसार जाहेरीवालाहरू र प्रतिवादीहरूबीचको सवाल-जवाफ प्रक्रिया आजै सकिने सम्भावना छ । बहस सकिएपछि अदालतले आदेश जारी गर्न सक्ने उनको भनाई छ ।

सुप्रिम सहकारी बचत ठगी प्रकरणमा रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, सहकारी संरक्षक गितेन्द्रबाबु (जीबी) राईलगायत २२ जनाविरुद्ध माघ ६ गते पूरक मुद्दा दर्ता गरिएको थियो । कात्तिक २ मा पक्राउ परेका लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =