मुलुकलाई सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य : शङ्कर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालसँगको भेटघाटमा उहाँले स्वास्थ्य क्षेत्रको सुधारले मात्र मुलुकको सामाजिक सूचकमा पनि प्रगति हुने बताए ।

“स्वास्थ्य क्षेत्र कमजोर रह्यो भने सामाजिक सूचकका दृष्टिकोणले मुलुकलाई सुखी र समृद्धि भन्न सक्दैनौँ । यो क्षेत्रको विकास अपरिहार्य छ । त्यसले मात्र हामीले निर्धारण गरेका सङ्कल्पलाई पूरा गर्न सक्दछ”, उनले भने ।

चिकित्सा सेवालाई परिमाणका आधारमा विकास गर्न जरूरी रहेको रहेको उल्लेख गर्दै महासचिव पोखरेलले धेरै नेपाली उपचारका लागि बाहिर जाने स्थिति रहेका र उच्च, मध्यम र सीमा क्षेत्रका गरिबी जनता पनि उपचारका लागि भारत जाने गरेको भनाइ राखे ।

उनले नेपालमा भएको उपचार सेवाको क्षमतालाई चिकित्सा क्षेत्रसँग जोड्न सक्यो भने बाहिरका मानिसलाई उपचारका लागि नेपाल भित्र्याउने आधार निर्माण हुने भन्दै त्यसका लागि चिकित्सा सेवाको सामाथ्र्य वृद्धि गर्नुपर्नेमा जोड दिए ।

मुलुकले उत्पादन गरेका जनशक्तिको झण्डै ८० प्रतिशत जनशक्ति बाहिर जाने गरेको तथ्याङ्क सार्वजनिक भएको भन्दै उनले भने,“स्वास्थ्य पूर्वाधार निर्माण गर्न नसक्नु र जनशक्तिका लागि पर्याप्त ठाउँ उपलब्ध गराउन नसक्नु रहेको छ ।”

महासचिव पोखरेलले पूर्वाधार तयार नभएकाले जनशक्तिलाई रोक्न नसकेको भन्दै तर भविष्यमा त्यो अवस्था अन्त्य गर्नुपर्ने भनाइ राखे । स्वास्थ्य क्षेत्रका विकास स्वास्थ्यकर्मीले गर्नुपर्नेमा भन्दै पार्टीले महासङ्घले बनाएका योजनालाई कार्यान्वयन गर्ने भनाइ राखे ।

महासङ्घका अध्यक्ष डा.झलक शर्मा गौतमले पार्टीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *