अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले समेत उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री


काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटीमा समेत उडान गर्नसक्ने उपकरण जडान गरिएको उल्लेख गर्दै अब कुहिरोले समेत उडान प्रभावित गर्न नसक्ने दाबी गरेका छन् ।
शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली बिहीबारदेखि लागू भएको थियो । उनले उक्त प्रणालीले कम भिजिबिलिटीमा उडान गर्न सक्ने बताए ।
उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको समेत बताए । उनले आफूहरूले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै चलाएर देखाउने दाबी गरे । उनले सरकारले अगाडि बढाएका आयोजनाहरूको विरोध नगर्न समेत आग्रह गरे ।
उनले भने ‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौं । कमी कमजोरी भए औँल्याऊँ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ । हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ । त्यो विमानस्थल निर्माण गरिरहँदा हामीले अनेक आलोचनाहरूको सामना गर्नुपर्याे । आज त्यो गौतमबुद्ध विमानस्थल सञ्चालनको बिन्दुमा आइपुगेको छ । केहीले भन्छन् चल्दैन । हामी चलाएर देखाउँछौँ । हामीले बनाएको हो हामी नै चलाएर देखाउँछौँ । यो आत्मविश्वास म व्यक्त गर्न चाहन्छु । भैरहवामा ८०० भिजिबिलिटी भएपनि उडान गर्न सक्नेगरी उपकरण जडान गरिएको छ । अब हामीले कुहिरोले पनि जहाज अवतरण र उड्नका निम्ति समस्या गर्दैन । हामीले सञ्चालन गरेका र अगाडि बढाएका आयोजनाहरूका बारेमा प्रशंसा गर्न सकिन्न भने विरोध नहोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
उनले सरकारको कमी, कमजोरी औँल्याउँदै सरकारले गरेका राम्रा कामहरु सबैले साथ दिनुपर्ने बताए ।
