हिउँदे अधिवेशन : प्रतिपक्षले सरकारका गलत कामको भण्डाफोर गर्ने,सत्तापक्षले प्रतिरक्षा

काठमाडौं । यही माघ १८ गतेदेखी संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । विधेयक अधिवेशनका रुपमा समेत चिनिने हिउँदे अधिवेशनमा दलहरु सशक्त ढङ्गबाट प्रस्तुत हुने भएका छन् । प्रतिपक्ष दलहरुले सरकारका गलत गतिविधि विरुद्ध आवाज उठाउँदा सत्तापक्ष दलहरु भने त्यसको बचाउमा उत्रिने निश्चित जस्तै छ ।
तथ्य तथ्याङ्कका आधारमा प्रतिपक्षको सशक्त बहस
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सरकारका गलत काम विरुद्ध सशक्त ढङ्गबाट संसदमा आवाज उठाउने बताउँछन् । उनले मकालुखबरसंगको संवादमा भने,‘सरकारका गलत कामका विरुद्ध संसदमा सशक्त ढङ्गबाट तथ्य तथ्याङ्कका आधारमा विषय उठाउँछौँ ।’
सरकारले संसद छलेर नियम विपरितका विवादास्पद कामहरु गरेको उनले बताए । सरकारले गरेका गलत क्रियाकलापहरु र हर्कतका विषयमा संसदमा प्रश्न उठाउने उनले बताए ।
अध्यादेश,भ्रष्टाचारका साथै सरकारका गलत क्रियाकलाप र जनताका जनजिविकाका विषयहरुलाई संविधान र संवैधानिक व्यवस्थाअनुरुप तथ्य तथ्याङ्कका आधारमा संसदमा खबरदारी गर्ने उनले बताए ।
‘सरकारका विभिन्न विवादका काण्डहरु छन् । उर्जा मन्त्रालयसंग सम्बन्धित ठेक्का प्रक्रियाका कुराहरु,ठूला परियोजनाहरु नियम विपरित ढङ्गले दिने कुराहरु,उनले भने,‘विधेयकको साँटो सरकारले संसद छलेर ६ वटा अध्यादेश ल्याएको छ । अध्यादेश पनि आफुलाई चाहिने मात्रै छानेर ल्याएको छ । त्यसैले हामी ती अध्यादेशका बारेमा पनि सशक्त ढङ्गबाट विषय उठाउँछौँ,’ ।
गलत अध्यादेशहरु सरकारले फिर्ता लिनुपर्नेमा उनले जोड दिए । लोकतन्त्रको सम्मान,संसदीय मूल्य मान्यता र मर्यादालाई संस्थागत गर्न बलियो बनाउन चाहन्छ भने सरकारले अध्यादेशहरु फिर्ता लिनुपर्ने उनले बताए । सरकार संसदप्रति उत्तरदायी र जवाफदेही हुनुपर्नेमा उनको जोड छ ।
साथै उनले दुध किसान,उखु किसान लगायत किसानका विषय,विद्युत् बक्यौतासंग जोडिएका विषय,सिमेन्ट फ्याक्ट्रीहरुमा उद्योगीहरुले देखाइरहेरको क्रियाकलाप,सिमेन्ट लगायतका निर्माण सामाग्रीमा भएको मूल्य वृद्धि एवं जनजिविकाका सवालहरुमा संसदमा सशक्त तवरबाट आवाज उठाउने बताए ।
गरिबन्धु टी-स्टेटको लफडा र भूमी अध्यादेशलाई जोडेर हेर्दा ओली नेतृत्वको सरकार विचौलियाले बनाइदिएको प्रमाणित हुँदै गएको उनले बताए ।
बहुमतको आडमा विधेयक पारित गर्ने सरकारको तयारी
सत्ता सहकार्यको प्रमुख दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे हिउँदे अधिवेशनमा २० देखी २५ विधेयकहरु पारित गर्ने लक्ष्य रहेको बताउँछन् ।
उनले मकालुखबरसंगको संवादमा भने,‘सकेसम्म सहमतीय आधारमा विधेयकहरु पारित गर्ने पक्षमा अन्तिमसम्म प्रयास गर्छौ,केही लागेन भने बहुमतका आधारमा भएपनि विधेयकहरु पारित गर्छौ ।’
राष्ट्रिय सभा र प्रतिनिधि सभामा १८ वटा विधेयकहरु रहेका बताउँदै उनले भने,‘यी विधेयकहरुलाई पारित गर्ने,सरकारले ल्याएका ६ वटा अध्यादेशहरु पनि पारित गर्ने,अरु ५/७ विधेयकहरु पनि आउँदैछन् । प्रहरी र सशस्त्र लगायत अरु विधेयकहरु आउँदैछन् ।’
उनले सहमतिका नाममा विधेयकहरु अल्झाएर नराखिने समेत प्रष्ट पारे । ‘६-६ वर्षदेखी विधेयकहरु अल्झिएका छन् । यसरी विधेयकहरु अल्झाएर राख्ने र कानूनै निर्माण हुन नदिने,संविधानलाई कार्यान्वयन नै हुन नदिने कुराहरुसंग अब सहमत हुन सकिन्न,’ उनले भने ।
संसदलाई बन्धक बनाएर राख्न नहुनेमा जोड दिँदै विधेयक निर्माणमा सबैको सहयोग हुनुपर्ने प्रमुख सचेतक घिमिरेले बताए । उनले संसदमा प्रतिपक्ष दलहरु सशक्त ढङ्गबाट आउनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार प्रयत्नशील रहने बताए । उनले हिउँदे अधिवेशनमा विजनेसको अभाव नहुने गरी सरकारले तयारी गरिरहेको समेत बताए ।
‘सरकारले संसदलाई विजनेस दिन कुनै कन्जुस्याईं गर्दैन,उनले मकालुखबरसंगको संवादमा भने,‘विजनेसको अभावमा संसद रहँदैन,संसदले मजाले विजनेस पाउँछ । विजनेस जति पनि दिने कुरामा सरकार तयार छ ।’
सांसदहरुले उठाएका जनताका चासोका विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्ने उनले बताए । संसदमा सांसदहरुले बोलेका कुराहरुलाई प्राथमिकता दिने कुरामा कुनै कमजोरी नहुने बताउँदै उनले भने,‘सरकारले संसदसंग समन्वय गरेर काम गर्छ ।’
विधेयकहरुका विषयमा पनि सरकारले संसदलाई कुनै कमी हुन नदिने गरी आवश्यक विधेयकहरु संसदमा पेश गर्ने बताए । बढीभन्दा बढी विधेयकहरु संसदीय समितिबाट पारित गरेर संसदमा पठाइने उनले बताए ।
संविधान कार्यान्वयनसंग जोडिएका महत्वपूर्ण विधेयकका साथै मौजुदा कानूनहरुलाई समयानूकुल बनाउनका लागि संसोधन गर्ने गरी सरकार अघि बढेको उनको भनाई छ ।
प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारले जनताको मन जित्नेगरी काम गरिरहेको समेत बताए । उनले भने,‘वर्तमान सरकारले जनताको मन जित्नेगरी काम गरिरहेको छ । यो विपक्षी दलहरुलाई मन परिरहेको छैन,त्यसैले उहाँहरुले सरकारमाथि हिलोछ्याप्ने काम गरिरहनुभएको छ ।’
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा सगरमाथाको उचाईमा निराशा रहेको भएपनि वर्तमान सरकारले त्यसलाई आशामा बदल्ने गरी काम गरिरहेको प्रमुख सचेतक बर्तौलाको भनाई छ ।
संसदीय व्यवस्थामा प्रतिपक्षी दलहरुले जिम्मेवार बोधका साथ विषयवस्तु उठान गर्नुपर्नेमा त्यसो नगरी विपक्षी दलहरुले आफ्नो भूमिका बिर्सिरहेको उनले बताए ।
देश र जनताको पक्षमा काम गर्दै वर्तमान सरकार अघि बढिरहँदा विपक्षी दलहरुमा छटपटी बढेको समेत उनले बताए । अहिले विपक्षी दलहरु सत्ता बाहिर रहँदा पानी विनाको माछाजस्तै छटपटी भएको उनले बताए ।
उनले विपक्षी दलहरुले राजनीतिका नाममा ड्रामा गरिरहेको भन्दै यथार्थमा आधारित राजनीतिक गर्न आग्रह समेत गरे । जनतालाई डेलिभरी दिनका लागि कानूनहरुमा सुधार गर्दै सरकार अघि बढिरहेको उनले बताए । विकास निर्माण,सुशासन सम्वद्र्धन गर्ने गरी सरकारले कामहरु अगाडि बढाउन खोजिरहेको उनले बताए ।
सरकारको कामकारबाहीबाट विपक्षी दलहरु अत्तालिएको उनको भनाई छ । भ्रामक,कपोकल्पित किसिमका गतिविधि नगर्न पनि उनले प्रतिपक्ष दलहरुलाई आग्रह गरे ।
प्रतिपक्ष दलहरुले सरकारले ल्याएको अध्यादेश विरुद्ध संसदमा आवाज बहस गर्नेभएपछि प्रतिरक्षाका लागि नेकपा एमालेले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ ।
संसद भवन नयाँ बानेश्वरमा नेकपा एमाले संसदीय दलले विज्ञ समेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रष्ट पार्दै संसदमा थप सशक्त रुपमा धारणा राख्ने गरी सांसदहरुलाई प्रशिक्षण दिएको हो ।








