मानवसेवाभन्दा ठूलो धर्म अरू हुनसक्दैन : पृथ्वीसुब्बा गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवसेवाभन्दा ठूलो धर्म अरू हुन नसक्ने बताएका छन् ।

बेँसीसहर नगरपालिका–७ स्थित मानवसेवा आश्रममा शनिवार आयोजित आश्रमको भवन निर्माणका लागि एनसेलद्वारा सहयोग रकम हस्तान्तरण कार्यक्रममा उनले विविध कारणले सडकमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताए ।

“धेरै मानिसले अन्य काममा पनि सहयोग गर्छन् तर परिवारले हेला गरेका र विविध कारणले सडकमा भौतारिरहेका मानवलाई सहयोग गर्नु उत्तम धर्म हो”, सरकारको प्रवक्ता मन्त्री गुरुङले भने,“समस्यामा परेका मानवको सहयोग गर्न सबै तयार हुनुपर्छ । यस्तो सहयोग गर्नु ठूलो धर्म गर्नु हो ।”

उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री भएका बेला लमजुङ, कास्की, गोरखालगायत चार ठाउँमा आश्रम निर्माणका लागि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री गुरुङले सडकमा भौतारिरहेका मानिसको सेवा र उत्थानका लागि मानवसेवा आश्रमले गरिरहेको योगदानको प्रशंसा गरे । उनले आश्रमले गरिरहेको काम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासोका साथ हेरिरहेको भन्दै आश्रमलाई सबैले माया गर्नुपर्नेमा जोड दिए । “प्रधानमन्त्री स्वयं र आमा (प्रधानमन्त्री पत्नी) यसको संरक्षक हुनुहुन्छ । त्यसैले आश्रमको काम कारबाहीप्रति हामी सबैको ध्यान छ”, मन्त्री गुरुङको भनाइ थियो ।

कार्यक्रममा एनसेलका प्रतिनिधि डिल्लिराम श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो संस्थाले आश्रमको भवन निर्माणको लागि रु १० लाख सहयोग गरेको बताउनुभयो । उहाँले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणलगायत क्षेत्रमा हालसम्म रु दुई अर्बभन्दा बढी सहयोग गरेको बताए ।

आश्रमकी संयोजक अनिता अधिकारीले चन्दादाता, विभिन्न सङ्घसंस्था, स्थानीय र प्रदेश सरकारको आर्थिक सहयोगमा आश्रमको भवन निर्माण भइरहेको बताउनुभयो । आश्रममा हाल २४ जना रहेका उनले जानकारी दिए ।

यसैबीच मन्त्री गुरुङले आजैै यहाँ निर्माणाधीन मानवसेवा आश्रम भवनको अवलोकन गरे । लमजुङ बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको अवलोकन गर्दै उहाँले भवन निर्माण सहयोगको प्रतिबद्धता व्यक्त गरे।

त्यस अवसरमा आश्रमकी संयोजक अनिता अधिकारीले भवन निर्माणको अवस्था, चुनौती, समस्या तथा बजेटबारे जानकारी गराए । उनले जग्गा सम्याउन, पहिरो रोकथाम, पर्खाल निर्माण र तीन वटा घर निर्माणलगायत काममा रु छ करोडभन्दा बढी खर्च भइसकेको बताए । हालसम्म ४० प्रतिशत निर्माण कार्यसम्पन्न भएकाले बाँकी काम गर्न आर्थिक सहयोगका लागि संयोजक अधिकारीले मन्त्री गुरुङलाई आग्रह गरे।

वि.सं. २०७८ देखि आश्रम निर्माण थालिएको हो । गण्डकी प्रदेश सरकार, पालिका, विभिन्न संघसंस्थाको सहयोगमा भवन निर्माण भइरहेको छ । आश्रमको भवन निर्माण गर्न ‘बालसपना समाज’ले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *