प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी गर्न राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल : चन्द्रप्रसाद ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यान्वयनबारे न्युज एजेन्सी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
भ्रमण दलका सदस्य समेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानुन, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीहरूलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए । उनले परम्परागत कानुन परिमार्जन,वैदेशिक लगानी सहजीकरणको बारेमा पनि दुई पक्षबीच राम्रो छलफल भएको बताए ।
क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको दाबी गरे । उनले उनले अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख सहरबाट सिधा उडानका लागि पनि छलफल गरेको बताए ।
उनले भने ‘भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानुन र निजी क्षेत्रले लिने पहल कदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो । क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख सहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ ।’
अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद् रहेको बताए । उनले सडक, हवाई, रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुपर्ने कुरा प्राथमिकताका साथ राखेको जानकारी दिए ।








