महिला स्वास्थ्य स्वयंसेविकाहरुको गुनासो- सरकारले कामको मूल्यांकन गरेन

काठमाडौँ । महिला स्वास्थ्य स्वयंसेविकाहरूले सरकारले स्वास्थ्य स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन् ।
बिहीबार ललितपुरमा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला स्वयंसेविकाहरूले यस्तो गुनासो गरेका हुन् ।
उनीहरुले महिला स्वयंसेविकाहरू जुनसुकै ठाउँमा हिँड्नलाई तयार रहेको भएपनि सरकारले कामको मूल्यांकन गर्न नसकेको गुनासो गरे । उनीहरुले आफूहरूको कामको बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि अहिलेसम्मका सरकारले चासो नदिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले बताइन् ।
महिला स्वयंसेविकाहरूले गरेको कामको मूल्यांकन हुनुपर्ने बताइन् ।
उनले भनिन् ‘जुनसुकै ठाउँमा हिँड्नलाई महिला स्वयंसेविकाहरू तयार छौँ । तयार हुँदाहुँदै पनि हामीले काम गरेको अहिलेसम्म मूल्यांकन छैन । हामीले नेपाल सरकारलाई पटक पटक ध्यानाकर्षण गराएका छौँ । तर अहिलेसम्म ध्यान आकर्षण हुन सकेको छैन । हामीले गरेका कामहरु स्वास्थ्यको मुख्य आधार हो । काम जुनसुकै काम गर्न तयार छौँ तर काम गरिसकेपछि त्यसको मूल्यांकन हुनुपर्छ ।’
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने बताए । उनले महिला स्वयंसेविकाहरूलाई अपग्रेड गरेर प्रणालीमा ल्याउनसके आगामी दिनमा राम्रो हुने बताए । उनले कुन उमेरका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अपग्रेड गर्ने भन्नेबारेमा सरकारले छलफल गरिरहेको बताए ।
उनले भने ‘आगामी दिनमा हामीले दुई तीन वटा चिजहरू गर्नुपर्ने छ । तपाईँहरूको उचित व्यवस्थापनको कुरा छ । अपग्रेडेशनको कुरा छ । सिस्टममा ल्याउनलाई के गर्ने ? जुन तपाईँहरूले काम गरिरहनुभएको छ । त्यसलाई सिस्टममा ल्याउन के गर्ने ? महिला स्वयंसेविकाहरूलाई अपग्रेड गरेर सिस्टममै हाल्न सकियो भने त भोलिका दिनमा सजिलो हुन्छ । कुन उमेरलाई अपग्रेड गर्न सकिन्छ, त्यो बहस गर्न सकिन्छ ।’
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। विकास देवकोटाले स्वास्थ्य स्वयंसेविकाले व्यक्तिलाई मात्रै नभई परिवार, समाज र देशलाई नै स्वस्थ बनाउने बताए । उनले सबैको मुख्य काम भनेको नागरिकको सेवा नै भएकाले सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताए ।
उनले भने ‘डाक्टरले, नर्सले व्यक्तिको उपचार गर्छौं । व्यक्तिलाई स्वस्थ बनाउँछौँ तर यहाँहरूले व्यक्तिका साथै परिवार, समाज र देशलाई स्वस्थ बनाउनु हुन्छ । फरक त्यो हो । सबैको सेन्टर अफ एक्सन भनेको नागरिकको सेवा नै हो । हामी तीन तहको सरकार छौँ । तीन तहको सरकारको समन्वय गरेर प्रोत्साहन कतै न कतै गरिरहेका छौँ । तर समग्र रूपमा सबैलाई सबैको लागि गर्न बाँकी छ ।’
महानिर्देशक देवकोटाले संघीयतापछि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई संघ, प्रदेश र स्थानीय तह कतै न कतैबाट प्रोत्साहनका कार्यक्रमहरू गरिरहेको भएपनि समग्र रूपमा सबैलाई सबैको लागि गर्न बाँकी रहेको उल्लेख गरे ।








