मुलुकमा अराजक,अनुशासनहिनता स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनै पनि खाले निरंकुश, अराजक, अनुशासनहिनता स्वीकार्य नहुने बताएका छन् । बुधवार पार्टी मुख्यालय च्यासलमा पार्टी पोलिटव्युरो बैठक समापन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको उनले बताए । प्रधानमन्त्री ओलीले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरे ।
सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहिनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए ।
प्रधानमन्त्री ओलीले सरकारप्रति नेपाली जनताको विश्वास बढदै गएको भन्दै त्यसलाई अझै उचाईमा पु¥याउन सरकार लागिपर्ने बताउनुभएको जानकारी दिए ।
उनले भने, ‘नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा सहमती गरेर मुलुकको स्थायित्व, स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने जो काम गरेर जनतालाई आश्वास्त गर्ने काम गरेका छौं । सरकार जनताप्रति विश्वस्त छन् भन्नुभएको छ । अहिले समाजमा भएका जुन खालका अराजकता, अनुशासनहिनता बढिराखेको छ । हामी नागरिक सर्वोच्चता चाहन्छौँ । विधिको शासन मान्छौं । र लोकतान्त्रिक मूल्यमान्ता अनुसार अगाडि बढ्न चाहन्छौँ । हामी कुनै पनि खाले निरंकुश, अराजक, अनुशासनहिनतालाई अस्वीकार गर्दछौं । र लोकतन्त्रलाई सुदृढ गर्ने पक्षमा हामी उभिनेछौं ।’
ओलीले मुलुकलाई समृद्ध नेपालः सुखी नेपालीको परिकल्पना अनुसार अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको समेत बताए ।