चाँडै काठमाडौंवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्छौं : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले चाँडै काठमाडौंवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले सरकारले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भइ डिपिआर अन्तिम चरणमा रहेको बताए ।
यी आयोजनाहरु सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुने उनले बताए । तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरु रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने मन्त्री यादवले बताए । उनले २५ देखि ३० करोड खर्च तत्काल गर्ने हो भने पानी केही सहज हुने बताए ।
उनले भने, ‘भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भइ डिपिआर अन्तिम चरणमा रहेको छ । यि आयोजनाहरु सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुनेछ । यसमा हामी काम गरिरहेका छौँ । तारकेश्वरमा पनि पाँच ठाउँमा त्यस्तो मुहानहरु छन्, जहाँ सिधै २५ देखि ३० करोड खर्च गर्ने हो भने त्यसमा हामी कमसेकम १४ देखि १५ करोड लिटर पानी पाउँछौँ । त्यसमा पनि काम गरिरहेका छौँ । केही कानूनी जटिलता छ, त्यसलाई हटाएर हामी पानी प्रयोग गर्नेछौँ । निकट भविष्यमै काठमाडौंमा पानीको हाहाकार थियो, त्यो हट्नेछ । अहिले ६ दिनमा पानी दिइरहेका छौँ । चाँडै यो समस्या समाधान गरी जनतासमक्ष खानेपानी पुर्याउनेछौँ ।’
मन्त्री यादवले अहिले ६ दिनमा एक दिन पानी काठमाडौंवासीलाई दिने गरेको बताए ।








