माओवादीको बोल्ड सर्कुलर– जनार्दनले पार्टी फुटाउने हल्ला सत्य होइन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीमा बोल्ड सर्कुलर जारी गरेको छ ।
उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्दै छन् भन्ने हल्लामा सत्यता नभएको बताउँदै माओवादीले बोल्ड सर्कुलर जारी गरेको हो ।
साउनमा बसेको स्थायी कमिटी बैठकमा जनार्दनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लिखित प्रस्ताव पेस गरेका थिए । उनले प्रचण्डलाई अध्यक्ष पद छाड्न सुझाएका थिए ।
अध्यक्ष प्रचण्ड र महासचिव देवराज गुरुङको हस्ताक्षरमा सार्वजनिक सर्कुलरमा जनार्दनले पार्टी फुटाउँदै छन् भन्ने प्रचारमा सत्यता नभएको उल्लेख छ ।
‘बैठकमा अभिव्यक्त भएका कतिपय कमरेडहरूका भनाइहरू सञ्चारमाध्यमहरूमा सार्वजनिकीकरण हुँदा त्यसले पार्टीलाई गम्भीर क्षति पुर्याउँछ,’ सर्कुलरमा भनिएको छ, ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदैछ भनी जसरी चर्चा परिचर्चा चलिरहेको छ, त्यसमा पनि उपमहासचिव क जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउँदै छन् भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्न चाहन्छौँ ।’
जनार्दनको प्रस्तावले माओवादी नेतृत्वमा खैलाबैला मच्चिएको थियो ।








