शेर्पाहरूका कारण सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताएका छन् ।
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले आइतबार आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“डोरी टाङ्नेदेखि आरोहीलाई शिखरमा पुर्याउने काममा शेर्पाहरूले योदान गरेकै कारण पर्वतारोहण सहज तथा सफल भएको छ । यसैले शेर्पाका कारण सगरमाथा विश्वमा चिनिन थप मद्दत पुगेको मेरो बुझाइ छ”, मन्त्री पाण्डेले भने ।
कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिकाका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म रहेका छन् । कार्यक्रममा पालिकाको सद्भावनादूतमा कुङ्गा शेर्पालाई घोषणा गरिएको थियो ।








