प्रधानमन्त्रीलाई बालेनको प्रश्न : अदालतले समाउ भनेको तपाईको सांसदलाई कहिले समाउने ? कि नसमाउने ?

काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले एक नाबालिकालाई हिंसा गर्दै आएकी छन् । सांसद शर्माले विगत ८ वर्षदेखी बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आएकी हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले यसबारेमा जानकारी दिएका छन् ।
आइतबार साँझ महानगर प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमा सांसद शर्माको तस्वीर राख्दै लेखेका छन्,‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।’
उनले अगाडि लेखेका छन्,‘सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’









