वर्तमान गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताए ।
क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति भएको भन्दै प्रशंसा गरे ।
उनले भने– ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रुपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि । यसकारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेतापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो । मैले त्यसै रुपमा लिएको छु । यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ । धेरै ठूलो मद्दत गर्नुभएको छ । यसकारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक–हार्दिक धन्यवाद दिन चाहान्छु ।’
उनले क्याप्टेन थापालाई प्रधानमन्त्री ओलि निकटको व्यक्ति भनेर चिनिने भएपनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे ।








