नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निरीक्षण

धादिङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको स्थलगत निरीक्षण गरेका छन् ।

काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिक भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्केका मन्त्री दाहालले पहिलो चरणमा उक्त सुरुङ मार्गको शुक्रवार निरीक्षण गरेका हुन् ।

मन्त्री दाहालसँगै नेकपा (एमाले) धादिङका नेताहरुको टोली काठमाडौँको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोला निस्किएका थिए ।

सुरुङको यात्रा गरेर निस्किनुभएका मन्त्री दाहालले नेपालमा सुरुङ मार्गको युग सुरु भएको बताए । सुरुङमार्गको काम समयमै सक्न र चाँडै सञ्चालनमा ल्याउन उनले निर्माणमा संलग्न कम्पनी र सम्बन्धित निकायलाई निर्देशन दिनुभएको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने उक्त सुरुङमार्गअन्तर्गत आपतकालीन सुरुङको लम्बाइ दुई दशमलव ५५७ किलोमिटर र मुख्य सुरुङको लम्बाइ दुई दशमलव ६८८ किलोमिटर छ । आयोजनाका अनुसार हाल तीन चौथाइभन्दा बढी काम सकिएको छ ।

आयोजनाको मुख्य सुरुङ र आपतकालीन सुरुङ छिचोलिएर टर्नेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिए ।

सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम सुरु भएको उल्लेख गर्दै आयोजनाअन्तर्गत अहिले तीन अन्डर पास, चार कल्भर्ट, तीन पुल, एउटा ओभर पास, फ्लाइओभरलगायत संरचना निर्माण भइरहेका उनले बताए ।

वि.सं. २०८२ को दशैँसम्ममा सवारीसाधन चलाउने गरी सुरुङमार्गको काम भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए । वि.सं. २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =