रवि लामिछानेलाई गगन थापाले भने – बयान दिएको हो, सफाइ पाएको होइन, फैसला कुरौँ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएको बताएका हुन् । उनले आफूहरूसँग भएको प्रमाण छानबिन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको बताए ।
उनले नौ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको बताए । लामिछानेलाई सफाइ पाएको नभई बयान दिएको कुरा स्मरण गर्न आग्रह गरे । उनले फैसला आउन बाँकी रहेको भन्दै फैसलासम्म कुर्न आग्रह पनि गरे ।
उनले भने – ‘केही दिनदेखि संसदमा केही साथीहरूले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेर खोजिराख्नु भएको पाएँ । त्यत्रो तथ्य, प्रमाणहरू भएरै त होला यत्रो संसदमा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ । त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि । त्यसको टिओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो । अनि त्यो तथ्य, प्रमाणहरू दिएनौँ होला हामीले ? हामीसँग भएको तथ्य, प्रमाणहरू पुगेन होला समितिमा ? हाम्रा साथीहरूले बोकेर जानु भएको छैन होला ? अनि यसमा ख्याल गर्नु भएन ? नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले आएको होइन होला ? मलाई त समितिमाथि पूरा विश्वास छ । सूर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरूमाथि विश्वास छ । बरु साथीहरू झुक्किनु भयो कि भन्ने लागेको छ मलाई । बयान हो बयान । सफाइ होइन । फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य, प्रमाणको आधारमा फैसला आउँछ भनेर बसिरहेको छु । त्यो समितिमा बस्ने प्रत्येक साथीमाथि विश्वास छ मलाई । तर रास्वपाका साथीलाई अलि अफठ्यारो पर्ला कि रु किनकि कालोलाई सेतो कसरी भन्नु ? त्यसैले दिन गनौँ । राम्रोसँग गनौँ । औँला भाँचेर गनौँ । लेखेर गनौँ । खरिले, मसिले जे ले गनेपनि हुन्छ । फैसला आउने दिन गनौँ । फैसला आएपछि सँगै बसौँला ।’
महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि संसदमा बोल्दै नेपाल बंगलादेश हुनसक्छ भन्ने अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पूर्वप्रधानमन्त्रीको तहबाट त्यो अभिव्यक्ति आउनु गलत भएको पनि बताए ।








