बाढीपहिरोलगायत विपद्मा परी दुई सय तीन जनाको मृत्यु

छ हजार ४४ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोलगायत विपद्मा परी आइतबार दिउँसोसम्म दुई सय तीन जनाको मृत्यु भएको छ ।

बाढी पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २८, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १६ गरी दुई सय तीन जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ६२ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ५१ जना घाइते भएका प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।

बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक सय एक गरी जम्मा दुई सय १० जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

बाढीपहिरामा परी कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ५४ जना बेपत्ता भएका जानकारी दिँदै बेपत्ताको खोजीकार्य जारी रहेको उनले बताए ।

बाढीका कारण आज दिउँसोसम्म चार सय आठ घर डुबानमा परेका छन् । तीन सय ६४ घर, एक सय २३ गोठ, ५२ पुल, छ विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । यस्तै यस अवधिमा नौ सय २४ पशुचौपायाको मृत्यु भएको छ ।

साथै विपद्का घटनाबाट छ हजार ४४ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =