नेपाललाई विकास गर्ने संकल्प लिएर बसेको मान्छे पशुपति शमशेर हो : सांसद जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूलाई विदेश जानबाट रोक्ने परिस्थिति सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले ठूला ठूला जलश्रोतको निर्माण गरी युवाहरूलाई स्वदेशमै सरकारले रोजगारी दिनसक्ने बताए ।
उनले नेपालको विकास सानो र ठूलो पार्टीले नभनी सबै मिलेर गर्न आवश्यक रहेको बताए । उनले मातृभूमि नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च प्रगतिमा पुर्याउने संकल्प लिएर आफू अघि बढे पनि नागरिकहरूले अरूलाई नै निर्वाचनमा जिताएर पठाउँदा सम्भव हुन नसकेको बताए ।
उनले दुई वटा ठूला पार्टीहरू शक्तिमा आएपछि मुलुकको दोहन गर्ने काम हालसम्म भइरहेको बताए । उनले विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर आफू वाक्कदिक्क भएको बताए ।
उनले भने ‘सम्पूर्ण कुरा हेर्ने हो भने यो मुलुक त्यो मुलुक हो, जहाँ सीताको जन्म भयो । सीता भनेपछि हाम्रो सबैभन्दा पवित्र महिला हो । उहाँको नाम लिएपछि नामबाटै आफ्नो धर्म पवित्रता सम्पूर्ण जाहेर हुन्छ । यो मातृभूमि नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च प्रगतिमा पु¥याउने संकल्प लिएर बसेको पशुपति शमशेर मान्छे हो । तर यत्तिका वर्ष प्रयास गर्दा पनि अन्तत्व गत्वा मान्छेले भोट दिँदा पनि दुई ठूला पार्टीलाई दिने, ती पार्टीहरू शक्तिमा आउने । शक्तिमा आएपछि उनीहरुले मुलुकको दोहन गर्ने, विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर म वाक्कदिक्क छु । हामीले यो मुलुकलाई ठूलो पार्टी चाहिन्न भनेको होइन, ठूलो पार्टी त छ, उनीहरूको अस्तित्व जीवित छ । यो मुलुकको विकास हुनुपर्छ, यसका ठूला ठूला जलश्रोतको विकास गरी यो मुलुकलाई धनी, यहाँका मानिस बाहिर जानु नपर्ने, यहाँका युवाले यहीँ रोजगार पाउने परिस्थिति सिर्जना गर्नुपर्छ । नेपाल माताको विकास जस्तो ठूलो पार्टीले गरे पनि हुन्छ ।’
सांसद जबराले मुलुकको विकास गर्न युवाशक्तिहरु एक भएर लाग्नुपर्ने पनि बताए ।








