सहज र सुपथ मूल्यमा खाद्यवस्तुको आपूर्ति गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुनेगरी बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले चाडपर्वका बेला खाद्यवस्तु सहज र सुपथ मूल्यमा उपलब्ध हुनेगरी बजार अनुगमनको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

चिनी, चामल, तेल लगायतका खाद्य वस्तुहरुको कालोबजारी, अस्वभाविक मूल्यवृद्धि नहुने गरी आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराइएको समितिका सभासपति अब्दुल खानले जानकारी दिए ।

बैठकले आवश्यकताअनुसार सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा बिस्तार गर्न पनि सरकारलाई निर्देशन दिएको छ । चिनीलगायतका कुनै पनि खाद्य वस्तुको अभाव हुन नदिने गरी खरिद प्रक्रियालाई प्रभावकारी बनाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको समिति सभापति खानले बताए ।

चिनीको अभाव हुन नदिन त्यसको आवश्यक व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको गत पुस ४ गतेको बैठकबाट दिइएको निर्देशन मन्त्रालयलाई पठाइएकोमा हालसम्म पनि कार्यान्वयनको अवस्था समितिलाई जानकारी नभएकाले पुनः जानकारीका लागि पत्र पठाइने पनि खानले बताए ।

उनले भने,‘चाडपर्वको अवसरमा हुने गरेको कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धिलाई रोक्न मन्त्रालय र मातहतका निकायबाट हुने गरेको बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन, सुपथमूल्य पसलहरु मुलुकको विभिन्न स्थानमा बिस्तार गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । समितिको २०८० पुस ४ गतेको बैठकबाट दिइएको निर्देशन मन्त्रालयलाई पठाइएकोमा हालसम्म पनि कार्यान्वयनको अवस्था समितिलाई जानकारी नभएकाले पुनः जानकारीका लागि पत्रदेखि पठाउने । चिनीको अभाव हुन नदिनेगरी सरकारले त्यसको आवश्यक व्यवस्था मिलाउने ।’

बैठकमा सांसदहरुले खाद्यवस्तुमा अखाद्य वस्तुको मिसावट हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द बरालीले उपभोक्ताको ज्यानै जाने भएकाले सरकारले खाद्य वस्तुमा हुने मिसावट नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने बताए । बजारमा खाद्य बस्तुको अभाव हुन नदिनेगरी सरकारले बजारको अनुगमनको काम गर्नुपर्ने उनले बताए ।

‘अखाद्य वस्तुको नियन्त्रण । महंगीले ढाड सेके पनि बरु बाहिर नै सेक्छ । त्यो अखाद्य विषाक्त चिजले त भित्र नै सेक्ने भयो । जीवन नै जाने भयो । त्यसको निगरानीमा सरकारको तर्फबाट, संसदको तर्फबाट र सम्बन्धित निकायको तर्फबाट ध्यान दिनुपर्ने विषय यो पनि हो,’सांसद बरालीले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले विचौलियाहरुले बजारमा रजगज गर्न नपाउने गरी सरकारले बजार अनुगमन गर्नुपर्ने बताए ।

उनले आम उपभोक्ताको हितसँग सम्बन्धित निकायहरुले पनि बजार अनुगमनको काममा ध्यान दिनेपर्ने बताए ।

सांसद अर्यालले भने, ‘अव यो दशैँ, तिहारलगायतका चाडपर्वमा विचौलियाको रजगज जुन छ बजारमा । उपभोक्ताहरुले पनि समितिले आउने, बजार नियन्त्रणका लागि सरकारलाई दबाब दियौं भनेर फोटो हालेर मात्रै नबस्नु होला । त्यसमा समितिले पनि आँखा चिम्लिने काम गर्नु भएन । सरकारले पनि जनशक्तिको अभाव भयो भनेर बजार अनुगमनको काम छोड्नु भएन ।’

सांसद अर्यालले बजारमा आम उपभोक्तामाथि ठगी गर्ने काम चाडबाडका बेला बढी हुने भएकाले त्यसमा पनि सरकारले कडा निगरानी राख्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =