समिति बैठक

‘भ्रष्टाचार मुद्दा दर्ता गर्ने बित्तिकै पदबाट निलम्बन हुनेकुरा ठिक छ/छैन, छलफल हुनुपर्छ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शासन प्रणाली र नियामक संरचनाहरूका बीचमा परिमार्जन गर्नुपर्ने विषयहरू धेरै रहेको बताएका छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा बिहीबारको सिंहदरबारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शासन प्रणाली र नियामक संरचनाहरूका बीचमा आवश्यक विषय सुधार गरी अघि बढ्न जरुरी रहेको बताए ।

उनले सरकारी निर्णय गर्ने विषयमा कर्मचारीतन्त्र र अख्तियार अनुसन्धानसँग सम्बन्धित विषयमा निकै जटिलता र पेचिलो महसुस हुने गरेको बताए । उनले राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले भ्रष्टाचार निवारणको कुरा कानुनी वा प्राविधिक विषय मात्रै नभएको भन्दै सामाजिक, सांस्कृतिक चेतनासँग सम्बन्धित रहेको बताए ।

उनले भने ‘हाम्रो शासन प्रणाली र हाम्रा नियामक संरचनाहरूका बीचमा परिमार्जन गर्नुपर्ने, सुधार गर्नुपर्ने धेरै विषय छन् । यो हामी सबैले महसुस गरेका छौँ ।’

अध्यक्ष दाहालले भ्रष्टाचारसँग सम्बन्धित हदम्यादको समय कति राख्ने वा राख्दै नराख्ने भन्नेकुरालाई गहन रुपमा छलफल गरेर टुंग्याउनुपर्ने बताए । उनले आयोगले मुद्दा दर्ता गर्ने बित्तिकै पदबाट निलम्बन हुनेकुरा ठिक हो वा होइन भन्नेबारेमा पनि पर्याप्त छलफल हुनुपर्ने बताए ।

उनले भने ‘आयोगले मुद्दा दर्ता गर्ने बित्तिकै पदबाट निलम्बन हुनेकुरा ठिक छ की छैन, अदालतले अन्तिम कसुरदार हो भन्ने फैसलासम्म त्यो विषय टुंगिएको हुँदैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *