लुम्बिनीलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कूटनीतिक पहल गर्नुपर्छ : मन्त्री तामाङ


काठमाडौँ । कामचलाउ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार मन्त्रालयबाट बिदाइ हुने क्रममा पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताएका हुन् ।
उनले लुम्बिनीमा विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरीतका कामहरु हुन थालेको भन्दै युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताए । उनले युनेस्कोको मान्यता विपरीतका कामहरु रोक्न आफूले सम्बन्धित निकायलाई सचेत गएको बताए । उनले त्यतिले मात्रै नपुग्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा प्रवेश हुन नदिन कूटनीतिक पहल गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले भने – ‘लुम्बिनी युनेस्कोको विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरीत काम भए जसको कारणले लुम्बिनीलाई निकट भविष्यमै खतराको सुचीमा जाँदैछ भन्ने चेतावनीमूलक कुराहरू आएको छ । जसको बारेमा हामीले आफ्नो तर्फबाट, यदि लुम्बिनी विकास कोषबाट त्यस्तो कुनै युनेस्कोको मान्यता विपरीत कुनै काम भएका छन्, निर्माणसँग सम्बन्धित कामहरु भएका छन् भने त्यस्ता कामलाई रोक्नुपर्छ । सुधार गर्नुपर्छ भनेर सचेतता गर्ने काम हाम्रो तर्फबाट भएको छ । सचेत गराउने काम मैले गरेको छु । तर हामीले मात्रै सचेत गराएर त्यो काम फत्ते गर्न सक्ने अवस्था छैन । मैले बुझिराखेको छु । अहिले पनि युनेस्कोले लुम्बिनीलाई युनेस्कोको खतराको सुचीमा प्रवेश हुन नदिनको निमित्त हामीले केही कूटनीतिक पहल पनि गर्नुपर्ने अवस्था छ । म पुरातत्त्व विभागका साथीहरूलाई त्यतातिर ध्यान दिनको निम्ति अनुरोध गर्दछु ।’
आफूले आफ्नो कार्यकालमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि ८ बजेसम्म खोल्ने निर्णय गरेको बताए । उनले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई निःशुल्क भोजन गराउने तयारी गरेको भन्दै प्रतिवेदन आएपछि सो काम अगाडी बढ्ने पनि जानकारी दिए । उनले नेपालको हवाइजहाजलाई युरोपको आकाशमा लागेको प्रतिबन्ध हटाउन सुधारका कामहरु सुरु भएको भन्दै निष्कर्षमा पर्याउन भने निरन्तर प्रयत्न गर्न जरुरी रहेको उल्लेख गरे ।
