संविधान संशोधनमा गिद्धे नजर लगाए सशक्त प्रतिवाद गर्छौं : माओवादी केन्द्र

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशि समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको बताएका हुन् ।

उनले संविधानको यो सुन्दरता विपरित गएर संविधान संशोधन हुन नसक्ने बताए । उनले पश्चगामी सोचाईका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए माओवादी केन्द्रले संसद र सडकबाट सशक्त प्रतिवाद गर्ने बताए ।

उनले भने–‘हाम्रो भनाई के हो भने यस्तो पश्चगामी सोचाईका साथ उहाँहरु संविधान संशोधनमा गिद्धेनजर लगाउन थाल्नुभएको हो भने त्यसको संसद र सडकबाट पनि हामीले प्रतिवाद नगरेपनि सम्बन्धित अधिकार प्राप्त गरेका जाति, समुदाय, क्षेत्र, लिङ्ग, वर्गले प्रतिवाद गर्छ ।’

उनले कांग्रेस–एमालेले संविधानको सुन्दरतामाथि प्रहार गरेमा सम्बन्धित जाति, समुदाय, क्षेत्र, लिङ्ग र वर्गले प्रतिवाद गर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने बताए ।

उनले जनताका अधिकारहरुलाई सुदृढ गरेर र समयानुकुल परिवर्तन गरेर संशोधन गर्ने कुरामा भने माओवादी सहमत रहने बताए ।

‘त्यो अधिकार हनन गर्ने, खोस्ने र संविधानको सुन्दरतामाथि उहाँहरुले हमला गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्नुको त अरु हामीसँग के विकल्प रहन्छ र ? जनताका अधिकारहरुलाई सुदृढ गरेर, समयानुकुल परिवर्तन र संशोधन गर्दै जाने कुरामा माओवादी पछि हट्दैन,’उनले भने,‘तर प्राप्त भएका उपलब्धिहरुका माथि हमला गर्ने, खोसिने, कटौती गरिने, गिद्धेनजर लगाउने भयो भने त त्यसको सशक्त ढंगले प्रतिवाद हुन्छ ।’

उनले प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताए । प्रधानमन्त्रीले विश्वासको मत लिन संविधानमा भएको व्यवस्थालाई लोकतान्त्रिक ढंगले अभ्यास गर्न लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 17 =