अल्पमतमा परेका प्रचण्डलाई एक सेकेन्ड पनि सरकारमा बस्ने छुट छैन : सांसद गैरे

काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
उनले प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको बताए ।
‘देशमा सरकार घोर अल्पमतमा परेको छ । तर बाँसुरी बजाइरहेको छ । सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ । बरु उडायो सबै सपनाहरु हुरीले भन्ने गित गाए हुने नि । आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारा पानी खोज्दै हुनुहुन्छ,’उनले भने,‘संविधानमा प्वाल खोज्दै हुनुहुन्छ । सरकारलाई अस्थिरतातर्फ, बेथितितर्फ, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ र यहीँ सदनमा पनि अनेकन तर्क, विर्तकहरु गर्ने कोशिस गरिँदैछ ।’
उनले प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि बताए ।
उनले बहुमत गुमाएपछि सरकारमा एक सेकेण्ड बस्न पनि नैतिक आधार नरहने भन्दै कुनै धारा वा उपधारा नखोज्न आग्रह गरे ।
‘देशमा उत्पन्न भएका समस्या समाधान गर्नका लागि, लोकतान्त्रिक शासन व्यवस्थामा सरकार अल्पमतमा परिसकेपछि, सरकारले बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कुनै कारण छैन । त्यो भनेको नैतिक रुपले सरकार लोकतान्त्रिक प्रणालीमा बहुमत गुमाएपछि एक मिनेट होइन,’उनले भने,‘सेकेण्डपनि बस्ने कुरा नैतिक आधार रहदैन । त्यसकारणले देशमा आइपरेको विपतको बेलामा, संकटको बेलामा तत्काल नयाँ सरकार बनाएर समस्या समाधान गर्ने प्रक्रियामा अगाडी बढ्न सहजता प्रदान गर्नु राम्रो हुन्छ ।’
उनले सरकारले विपद् प्रतिकार्यका लागि बनाएको कुनैपनि योजनाहरु कामयावी हुन नसकेको बताए ।








