राष्ट्रिय परिचय पत्र स्थानीय तहबाट नै अभिलेख हुने बनाउनुपर्छ : सांसद दाहाल

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय परिचय पत्रलाई स्थानीय तहबाट नै अभिलेख गर्नेगरी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गराउने भन्दा अहिले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिक र अपांगता भएका नागरिकहरूलाई समस्या परिरहेको बताइन् । उनले राष्ट्रिय परिचय पत्रलाई स्थानीय तहबाट नै अभिलेख गर्नेगरी सहज रुपमा वडा तहमै वितरण गर्नेगरी व्यवस्था गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन् ‘नेपाल सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गराउने भनेको छ । यो राष्ट्रिय परिचयलाई एकीकृत गर्ने, सबैलाई एकै ठाउँमा एकीकृत गरेर ल्याउने दूरगामी उद्देश्यका हिसाबले यो ठिक होला । तर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई अनिवार्य भनिदिँदा सोही अनुसारको सूचना सम्प्रेषण हुँदा जनमानसमा कठिन भएको छ । खासगरी ज्येष्ठ नागरिक र अपाङ्गहरूलाई अनावश्यक रुपमा अनिवार्य भन्दा उहाँहरुले दुःख पाइरहनुभएको छ । राष्ट्रिय परिचय पत्रलाई स्थानीय तहबाट नै अभिलेख गर्नेगरी सहज रुपमा वडा तहमै वितरण गर्नेगरी व्यवस्था गर्न आवश्यक छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’
उनले छोरीहरूलाई गर्भबाट जन्मन नदिने स्थितिको अन्त्य गर्न आवश्यक रहेको बताइन् ।








