यो सरकार जिम्मेवार छैन, देश र जनताको पक्षमा छैन : प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको बताएका छन् ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आज दिएको जवाफले पनि सो कुरा प्रमाणित गर्ने बताए ।
उनले कार्यविधिमा तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले नराख्ने भनेपछि किन राखिएको भन्दै प्रश्न गरे । यसले सरकार जनताप्रति जिम्मेवार नरहेको प्रमाणित हुने बताए । प्रधानमन्त्री दाहालले तीन करोड भन्दा तलका आयोजना प्रदेश र स्थानीय तहले गर्नेकुरा आजको मन्तव्यका क्रममा राखेपनि केन्द्रमा राखिसकेपछि कसरी प्रदेश र स्थानीय तहले काम गर्छन् ? भन्दै प्रश्न गरे ।
उनले भने ‘देश जनताको पक्षमा यो सरकार छैन । यसले सक्दैन । आजै प्रधानमन्त्रीको जवाफ, उहाँले के भन्दै हुनुहुन्थ्यो भने तीन करोड भन्दा तलका आयोजनाहरू जुन कार्यविधिमा केन्द्रले नराख्ने भनिएको छ । केन्द्रमा राखिएको छ र त्यो प्रदेश र स्थानीयले गर्छ भन्नुभयो । एक करोड भन्दा तलका आयोजना मात्रै ५५ अर्बका छन् । तीन करोड भन्दा तलको खर्बौँ नाघ्छ । त्यो सबै स्थानीय र प्रदेशले गर्ने हो भने केन्द्रमा किन राखेको ? यो सरकार जिम्मेवार छैन ।’
उनले नेपाली काँग्रेस बिना जिम्मेवारीपूर्ण ढंगबाट देशको विकास सम्भव नरहेको बताए ।








