केही सांसदहरूलाई चोइट्याइए पनि जसपा यथावत् छ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको जिकिर गरेको छन् ।

शनिवार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर गरेका हुन् । उनले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई चोइट्याइए पनि पार्टी यथावत् रहेको बताए । उनले केही नेताहरूलाई राज्यले मोहरा बनाएर चोइटाउनुलाई विभाजन भन्न नमिल्ने तर्क गरे । उनले कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरू चोइटिएका बताए । अध्यक्ष यादवले निर्वाचन आयोगलाई समेत घोक्र्याएर जनता समाजवादी पार्टी एकै दिनमा दर्ता गरिएको बताए ।

उनले भने ‘स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राती निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन । घोक्र्याएर पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो त्यो अत्यन्त निन्दनीय र गलत कार्य हो । यहाँहरूलाई पनि थाहा भएकै कुरा हो, सिन्धुलीमा प्रधानमन्त्री स्वयंले जसले यो संविधान रक्षा गर्छु, लोकतन्त्र रक्षा गर्छु भनेर कसम खाएर शपथ लिएका व्यक्तिले मैले जसपालाई फुटाए ।

आफ्नो सत्ता टिकाउनलाई गरेँ भनेर घोषणा नै गर्नुभयो । त्यसले के देखिन्छ भने राज्यको स्रोत, साधन र शक्ति लागेर केही सांसद, केही व्यक्तिलाई लगेको हो । पार्टी यथावत् नै छ । यो धनुषामा पनि एकजना मान्छे छैन होला जो गएको होला । पार्टी होइन केही व्यक्ति चोइटाएर लगेका हुन् । राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरूलाई मोहरा मात्र बनाइएको हो । त्यसलाई विभाजन भन्न मिल्दैन । उहाँहरूको नीतिगत मतभेद, राजनीतिक विचारमा मतभेद, सैद्धान्तिक मतभेद केही छैन । अनि किन त भन्दाखेरि कोही मन्त्री बन्न । कोही मन्त्री बनेर राम्रो मन्त्रालय पाउन । कोही धनबहादुर भित्राउन । त्यहाँभन्दा बढी केही लक्ष्य छैन ।’

अध्यक्ष यादवले आगामी दिनमा संघीयता तथा समावेशिता पक्षधरहरूसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seventeen =