राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक क्षेत्रलाई उच्च महत्व दिएर हामीले समाजवादी क्रान्तिको आधार तयार पार्न र त्यसका निमित्त जनमत निर्माण गर्न सकिने बताए ।
उनले मूल नीति विदेशी सहायतामा मात्र निर्भर हुने नभई आफ्नै पुँजी, आफ्नै जनशक्ति, सिप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम अघि सार्न जरुरी रहेको बताए । उनले विश्वव्यापीकरणको परिस्थितिमा गैरसकारी संस्थाहरूलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने हाम्रो नीति हुनुपर्ने पनि बताए ।
उनले भने ‘यति बेला हाम्रो पार्टी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको छ । ’
प्रधानमन्त्री दाहालले सामाजिक क्षेत्रलाई राजनैतिक र सामाजिक रूपान्तरण र समाजवादको लक्ष्यसँग जोड्ने प्रवृत्ति नै सही प्रवृत्ति भएको बताए ।








