ओलीलाई अर्थमन्त्रीको जवाफ- बजेट माओवादीतिर होइन्, जनतातिर ढल्केको छ

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् ।
बुधवार संसदभवन बाहिर सञ्चारकर्मीहरूको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महसुस भयो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।
संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित गरेका थिए । अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए । उनले नेकपा (माओवादी केन्द्र), निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आएपनि यथार्थमा त्यस्तो नभएको बताए ।
उनले आगामी आर्थिक वर्षको बजेट पार्टी र सरकार भन्दा पनि जनतातिर ढल्केको दाबी गरे । उनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दाबी गरे । उनले हरेक तीन वर्षमा कर्मचारीहरूको तलब वृद्धि गर्ने कानुनी व्यवस्था भएकाले अर्को वर्ष तलब वृद्धि हुने बताए । उनले मजदुरहरूको तलब निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको बताए ।
उनले भने ‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । नेकपा (माओवादी केन्द्र),निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन् । यथार्थ होइन । मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खास गरी युवाहरूमा आत्मविश्वास र हौसला पैदा गर्ने खालको छ । हरेक तीन वर्षमा कर्मचारीहरूको तलब वृद्धि हुन्छ । अहिले दोस्रो वर्ष चल्दैछ । तेस्रो वर्ष त्यस विषयमा सोच्नेछौँ । त्यो कानुनी व्यवस्था नै छ । मजदुरहरूको दुई वर्षमा तलब निर्धारण हुन्छ त्यो भइसकेको छ । बजेट मजदुरमैत्री नीति सरकारको छ । समग्रमा सरकारले रोजगारी सिर्जना गर्ने,अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएका छौं । त्यसैले बजेट पनि श्रमिकमैत्री छ । सबैको सहयोग आवश्यक छ । सरकारले बजेट कार्यान्वयन गर्छ र वस्तुगत रुपमा रिजल्ट पनि दिन्छौँ ।’
उनले सरकारले रोजगारी सिर्जना गर्ने,अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको बताए । उनले सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रुपमा परिणाम निकाल्ने प्रतिबद्धता जनाए ।








