कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो : रवि लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले सहकारीहरू पीडितहरूको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्याए । बुधवार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए ।

उनले आफूहरू सहकारी पीडितहरूको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए । उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी ठगी प्रकरणलाई उचालेको आरोप समेत लगाए । काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो ।

उपप्रधानमन्त्री लामिछानेले भने ‘के मैले काँग्रेसले भनेर राजीनामा दिनुपर्ने । काँग्रेस, जो नेपाली जनतालाई नक्कली भुटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रीय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ? मेरो पार्टीमा त इतिहास छ । प्रमाणित भएको पनि होइन । त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् । म भ्रष्टहरूलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन । हाम्रो पार्टीमा त्यस्तो चल्दैन । प्रहरीले अनुसन्धान गर्छ । अनुसन्धान गराए उनीहरुले । आफ्नो सरकार थियो । प्रहरीलाई अनुसन्धान गराए । उनीहरूलाई सहकारी पीडितको पिर थिएन । सहकारी पीडितहरूको पैसा फिर्ता गराउने उनीहरूको उद्देश्य थिएन । उनीहरूलाई रवि लामिछाने गलत देखाउनु थियो । रास्वपालाई घेर्नु थियो । त्यसकारण उनीहरुले केही पनि काम गरेनन् । हामीले प्रतिवेदन बनायांै । अहिलेसम्म भएका गलत क्रियाकलापहरू के के हुन ? कसका कारणले आज सहकारीहरू बदनाम भए, आज कसेका कारणले यतिका मान्छेको लगानी डुब्यो ? गरिब नेपालीको पैसा कहाँ डुब्यो ? त्यसको समाधानको उपाय के हो ? भनेर समाधानको उपाय खोज्न हामी गयौँ । हामीले प्रधानमन्त्रीलाई समाधानका उपाय समेत हस्तान्तरण ग¥यौँ । हामी तयार थियौँ, छौँ ।’

उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीहरूलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *