हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।

सोमवार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरू नरहेको जिकिर गरे ।

उनले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको बताए । उनले अहिले कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको सुरुवात भएको भन्दै जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर रहेको बताए ।

उनले जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने दाबी गरे । उनले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा इमानदार भएर लाग्नु आजको आवश्यकता भएको बताए ।

उनले भने ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ की, समय भन्दा अगाडि नै दौडिइएछ की भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले । त्यसकारण अहिले हामी सहकार्य सुरु गरेका छौँ, राम्रो सहकार्य गरौँ । यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिऊँ । त्यसो हुँदै गयो भने राजनीतिक दलहरूको बीचमा, कम्युनिष्टहरुको बीचमा स्वतः नै आधारभूमि तयार हुन्छ, एकताको, समझदारीको । त्यो ढंगबाट जानु ठिक हुन्छ । हामी संविधान कार्यान्वयनको, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणको जुन बिन्दुमा छौँ, समाजवादको आधार तयार पार्ने कुरामा हामी सहमतिका साथ संविधानमा उल्लेख गरेका  छौँ , त्यसमा इमानदार भएर लाग्ने आजको आवश्यकता हो ।’

प्रधानमन्त्री दाहालले समृद्धिको जनताको आकाङ्क्षा, सामाजिक न्याय, सुशासनको आकाङ्क्षालाई महसुस हुनेगरी काम गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *