बाबुराम भट्टराईलाई श्रेष्ठको प्रश्न– माओवादी कसरी दुस्मन शक्ति भयो ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले माओवादी केन्द्र कसरी दुश्मन शक्ति भयो भनि अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रश्न गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र डा.बाबुराम भट्टराईको दुश्मन शक्ति कसरी भयो भनि प्रश्न गरे ।

उनले गत चुनाव अगाडी नै माओवादी केन्द्रसँग चुनावपछि एकता गरेर जाने सहमती गरेको भएपनि अध्यक्ष भट्टराई एकता गर्ने पक्षमा नउभिएको भन्दै यसले आफूहरुलाई आश्चर्य बनाएको बताए ।

उनले माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेजको आधारमा नेसपाको नजिकको राजनीतिक शक्ति माओवादी केन्द्र नै भएको उल्लेख गरे ।

उनले विगतमा डा. भट्टराईको लागि माओवादी केन्द्रको सो दस्तावेज क्रान्तिकारी भएको भन्दै आज सोही दस्तावेज अवलम्वन गरिरहेको माओवादी केन्द्र कसरी दुश्मनशक्ति भयो भनि प्रश्न गरे । उनले डा. बाबुराम भट्टराईले राजनीतिक इमान्दारिता नदेखाएको पनि बताए ।

उनले भने– ‘आज उहाँहरुले विशेष गरेर नेकपा(माओवादी केन्द्र)को बारेमा नेकपा(माओवादी केन्द्र) पश्चगामी भयो । यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा लैजान सक्छ । नेकपा(माओवादी केन्द्र)को अध्यक्ष प्रचण्डको बारेमा सार्वजनिक अभिव्यक्तिहरु जो उहाँहरुले दिइराख्नुभएको छ ? यसमा कत्तिको तारतम्यता छ ? कत्तिको सत्यता छ ? म माओवादीको प्रवक्ता बनेर यहाँ बोलिराखेको छैन । तर इतिहास भनेको इतिहास हो । सत्य कुरालाई हामीले जहिल्यै पनि स्वीकार्ने आँट, साहस गर्नुपर्छ । हिजो नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित गरेको दस्तावेजलाई दशचोटी पढेर नेपाल समाजवादी पार्टीले नेकपा(माओवादी केन्द्र) सबैभन्दा नजिकको राजनीतिक शक्ति हो त्यसले गर्दा सबभन्दा नजिकको राजनीतिक शक्तिसँग पार्टी एकिकरण गर्नुपर्छ भनेर त्यो बेला निर्णय गरिएको हो । माओवादी केन्द्रको आठाँै राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज आज कमा र फुलस्टप पनि परिवर्तन भएको छैन । त्यो जस्ताको तस्तै छ । त्यो पारित गर्ने पार्टी, पारित गर्ने पार्टीको नेतृत्व, कार्यकर्ताहरु, प्रतिनिधिहरु आजपनि जस्ताको तस्तै छन् । जब एउटा कमा र फुलस्टप पनि परिवर्तन भएको छैन भने हिजो त्यही दस्तावेज कसरी क्रान्तिकारी भयो ? त्यही दस्तावेज आधारमा माओवादी केन्द्र सबभन्दा बढी नजिकको मित्रशक्ति कसरी भयो ? र आज नेकपा(माओवादी केन्द्र) फेरी दुश्मन शक्ति कसरी बन्न खोजिराखेको छ ? त्यसको आधार के हो ? मन पर्दाखेरी सबै कुराहरु सुगन्ध आउने, मन नपर्न थालेपछि सबै कुराहरु दुर्गन्ध आउने हुन्छ ? त्यो राजनीतिक इमान्दारिता हो ? राजनीतिक इमान्दारिता होइन ।’

सहअध्यक्ष श्रेष्ठले डा. बाबुराम भट्टराईले नै अग्रगामी शक्तिहरुका बीचमा एकताको कुरा उठाउनुभएको भन्दै उहाँ माओवादी केन्द्रसँगको एकताबाट भाग्न नपाउने बताए ।

उनले आफूहरुलाई आरोपित गरेर डा. भट्टराई पानी माथिको ओभानो बन्न नसक्ने बताए । माओवादी केन्द्रसँगको पार्टी एकता ऐतिहासिक आवश्यकता भएको भन्दै उनले पार्टी एकताको विकल्प नभएको बताए ।

सहअध्यक्ष श्रेष्ठले डा. बाबुराम भट्टराई विचलनमा परेको भन्दै विचलनले कुनै निष्कर्षमा पु¥याउन नसक्ने बताए । उनले आफ्नो पक्षमा बहुमत पार्टी सदस्य जुटाएर देखाउन चुनौती समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *