सांसद थापाले गरिन् समर्थन फिर्ताको घोषणा

शपथ लिएको भोलिपल्टै मुख्यमन्त्रीको पद धरापमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति शपथ ग्रहण पनि गराएका छन् । नागरिक उन्मुक्तिका सात जना सांसदमध्ये अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरी र टीका थापाले सोडारीलाई समर्थन गरेका थिए । दुवैलाई मन्त्रीमा नियुक्त गर्ने सहमतिअनुसार सांसद थापा र कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले शपथ लिए लगत्तै शपथ खुवाउने तयारी थियो । तर

मन्त्री हुने कुरामा ढुक्क भएर प्रदेश प्रमुखको कार्यालय पुगेकी उन्मुक्तिकी टीका थापाले भने शपथ लिने अवसर पाइनन् । कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी नपाए शपथ नलिने अडान लिएपछि थापाले विना विभागीय मन्त्रीको शपथ चाहेर पनि लिन नपाएकी हुन् ।

मुख्यमन्त्री सोडारीलाई अप्ठ्यारो 
शपथ प्रकरणपछि रन्जिता पक्षका दुई सांसदमा समेत फुट देखिएपछि बिहीबारमात्रै मुख्यमन्त्रीको शपथ खाएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई अप्ठ्यारो परेको छ । आज  नाउपाकी सांसद टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् ।

तर मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि टीकाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन् । ‘मलाई मन्त्रीको शपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि बिना विभागीयमा शपथ खान भनियो । मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो । मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निराश रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेन, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छु’ टीका थापालाई उदृध गर्दै उनका श्रीमान् रतन थापाले फेसबुकमा लेखेका छन् ।

माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रन्जिता पक्ष)का गरी २७ जनाको बहुमत पाउने भन्दै सोडारी सरकारमा गएका थिए । नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य हुँदा ५ जना रेशमको पक्षमा छन् । रेशम चौधरी भने सोडारीको नेतृत्वलाई समर्थन नगर्ने पक्षमा छन् ।

एक जनाको समर्थन नहुने बित्तिकै मुख्यमन्त्रीमा सोडारीले विश्वासको मत पाउँदैनन् । ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १ जना प्रदेश सभा सदस्यको निधन भएपछि अहिले प्रदेश सभामा ५२ जना सदस्य छन् । बहुमतमा लागि २७ जना प्रदेश सभा सदस्यको संख्या आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *