सबल अर्थतन्त्र बनाउन निजी क्षेत्रको आत्मबल बढाउन आवश्यक : उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सबल र सक्षम अर्थतन्त्र बनाउन उद्योगी व्यवसायीहरूको आत्मबल बढाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ड संस्थाले आयोजना गरेको तेस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको बताए । मन्त्री भण्डारीले अर्थतन्त्रका केही सूचकहरू सुधार भइरहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगको विकासका माध्यमबाट अर्थतन्त्र अझ चलायमान बनाउन आवश्यक देखिएको उल्लेख गरे ।

मन्त्री भण्डारीले नयाँ आर्थिक अवसरहरूको सिर्जना गर्न सके मात्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गरी देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने बताए । मन्त्री भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएका शिथिलतामा सुधारहरू आउन थालेको दाबी गरे ।

उनले सरकारले लिएका नीति नियमहरू राज्यका निकाय र निजी क्षेत्रले परिपालना गरेका कारण अर्थतन्त्रमा सुधार हुँदै आएको दाबी गरे । उनले लेखा व्यवसायीहरूको कार्यकुशलतामार्फत विभिन्न कम्पनी तथा निकायहरूको वित्तीय विवरणहरू यथार्थ हुँदै प्रशासकीय सुधार गरी दिगो र बलियो हुँदै गएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *