मलामीले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु

काठमाडौं । मलामी आएका व्यक्तिको कुटपिटबाट घाटमा शव जलाउने एक जना कामदारको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-४ बुढीखोला किनारमा रहेको मुक्तिघाटमा मलामी आएका दुई जना व्यक्तिले चिर्पट प्रहार गर्दा शव जलाउँदै आएका कामदार २७ वर्षीय बिनोद तामाङको मृत्यु भएको हो ।

मुक्तिघाट क्षेत्र विकास समितिमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका तामाङलाई आइतबार दिउँसो २ बजेतिर मलामी आएका इटहरी उपमहानगरपालिका-४ गैरीगाँउका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गरेका थिए । कुटपिटबाट घाइते भएका बिनोदको उपचारको क्रममा बेदान्त अस्पताल इटहरीमा मृत्यु भएको हो ।

घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी अनुसन्धान थालेको र फरार रहेका अनिल तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *